काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै चालु आर्थिक वर्षको विभिन्न मितिमा उक्त रकमबराबरको दाबी भुक्तानी गरेको जनाएको हो ।
उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी वक्यौता फर्छ्योट भएको बोर्डको भनाइ छ।
बोर्डका अनुसार २०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ।
यस अवसरमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै अवरोध वा असहजता सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।
त्यसैगरी, बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ।
सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको प्रमुख आधारका रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रमले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौं बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमले नागरिकले उपचारका क्रममा आफ्नै गोजीबाट व्यहोर्नुपर्ने खर्च घटाउँदै वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
बोर्डले दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको स्वीकार गर्दै यसबाट सेवा प्रदायक संस्था तथा बीमित सेवाग्राही दुवै पक्ष प्रभावित भएको जनाएको छ।

