काठमाण्डौ । सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक काम गर्दै आएका दृष्टिविहीनहरूले शुक्रबार पनि काठमाण्डौको माइतीघर मण्डलामा धर्ना जारी राखेका छन्।
उनीहरूले माइतीघरमा धर्ना दिन थालेको १२ दिन पुगेको छ। सरकारविरुद्ध प्रदर्शन गर्दै आएका उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
दृष्टिविहीनहरूले सरकारले आफूहरूलाई व्यवसाय गर्न नदिएको गुनासो गरेका छन्। उनीहरूको मागअनुसार दृष्टिविहीन व्यक्तिहरूको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराइनुपर्नेछ।
यस्तो व्यवस्था तत्काल सम्भव नभए हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेसा निर्वाध रूपमा गर्न दिनुपर्ने उनीहरूको माग छ। साथै सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
धर्नामा सहभागीहरूले माग पूरा नभएसम्म दैनिक माइतीघर पुगेर आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

