काठमाण्डौ । लगातार दुई दिनको वृद्धिपछि साताको अन्तिम कारोबार दिन सेयबजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले ओरालो लाग्दै ४५९.८१ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ७७ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘यो समयमा बजार धेरै तल पनि गएको छैन र माथि पनि जान नसकेको अवस्था छ । विशेषगरी असार महिनामा क्लोजिङको प्रेसर हुने हुँदा सेयर सप्लाई बढी देखिन्छ । लगानीकर्तासँगै ब्रोकर कम्पनीहरुले हिसाब मिलान गर्नुपर्ने हुँदा यो महिनामा बढी सेयर बिक्री हुन्छ, जसकारण बजार बढ्ने सम्भावना पनि रहँदैन ।’
उनले थपे, ‘अब असार २७÷२८ गतेसम्म बजारमा यस्तै स–सानो अंकको उतारचढाव देखिन्छ । सम्भवतः नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि बजारले पोजेटिभ मोमेन्टम बनाउन सक्छ । साउनमा मौद्रिक नीति सार्वजनिकसँगै सूचीकृत कम्पनीहरुको रिर्पोट आउने भएकाले यो महिनामा बजारमा सुधार आउन सक्ने देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटामा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.०६ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.१६ प्रतिशत, लघुवित्त ०.१५ र व्यापार समूह ०.५२ प्रतिशतले बढ्यो।
विकास बैंक समूह पनि आज ०.२९ अंकले वृद्धि भयो ।
यस्तै बैंकिङ समूह सर्वाधिक अर्थातट ०.९६ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.३८ प्रतिशत, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, म्युचुअल फण्ड ०.२०, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.१३ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज ४ प्रतिशत कृषि विकास बैंकको बोण्डको सर्वाधिक सेयर कारोबार भयो । यो बोण्डको आज ४३ करोडको सेयर कारोबार भयो । यस्तै केबीएल डिबेञ्चर २०८९ को ३९ करोड ६४ लाख, एनआरएन एन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख, वेष्ट फाइनान्सको १० र सेन्ट्रल फाइनान्सको ८ करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये चारवटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज सानिगाड हाईड्रो, स्नो रिभर्स, कालंगा हाईड्रो र नेपाल फाइनान्सको हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै खानीखोला हाईड्रोको सेयरमूल्य ११.६३ प्रतिशत, उपकार लघुवित्तको १०.७९ र माईखोला हाईड्रोको सेयरमूल्य ५.३७ प्रतिशतले बढ्यो ।
यो दिन अपर लोहरे खोलाको सेयरमूल्य सर्वाधिक अर्थात १३.६५ प्रतिशतले घट्यो । यस्तै धौलागिरी लघुवित्तको सेयरमूल्य ११.२१ र क्रेष्ट माइक्रोलाइफको सेयरमूल्य ४.९७ प्रतिशतले घट्यो ।

