आईतवार, श्रावण १०,२०८३ 06:43:56
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:43:56
Bizshala
Global IME Bank Limited

नेप्सेमा १५ महिना: चूडामणि चापागाईंको विवादै विवादको कार्यकाल, उपलब्धि शून्य

नेप्सेमा १५ महिना: चूडामणि चापागाईंको विवादै विवादको कार्यकाल, उपलब्धि शून्य
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं १५ महिनामै नेप्सेबाट बाहिरिएका छन्। उनले हिजो पदबाट राजीनामा दिएका थिए। अर्थमन्त्रीले उनको राजीनामा हिजो साँझ नै स्वीकृत गरिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

छोटो अवधिमै नेप्सेबाट बाहिरिएका चापागाईंको कार्यकाल पूँजीबजारका लागि सम्झनलायक उपलब्धिभन्दा पनि विवाद, आलोचना र निराशाको प्रतीक बनेर सकिएको छ। लगानीकर्ता, बजार विश्लेषक र सरोकारवालाहरूको दृष्टिमा उनको १५ महिने कार्यकाल आधुनिक पूँजीबजार निर्माणको हिसाबले लगभग निष्प्रभावी रह्यो।

नेप्सेको नेतृत्व सम्हाल्दा चापागाईंबाट बजारले ठूलो अपेक्षा गरेको थियो। पुरानो प्रविधि, कमजोर सूचना प्रणाली, ढिलो सेटलमेन्ट, अपारदर्शी सेवा प्रवाह, लगानीकर्तामैत्री सुविधा अभाव र नयाँ वित्तीय औजारको कमीले थलिएको नेप्सेमा उनले सुधारको गति दिन्छन् भन्ने विश्वास गरिएको थियो। तर, राजीनामा दिँदासम्म उनले ती कुनै पनि मूल मुद्दामा ठोस परिणाम दिन सकेनन्।

उनको कार्यकालमा सबैभन्दा बढी विवाद रिलायन्स स्पिनिङ मिल्सजस्ता कम्पनीको आईपीओ प्रक्रियासँग जोडिएको विषयमा देखियो। बजारमा गोल्यान ग्रुपजस्ता कर्पोरेट समूहको पक्षमा नेप्से नेतृत्व नरम देखिएको आरोपसमेत लाग्यो। यस्ता विषयले उनको निष्पक्षता र नियामकीय भूमिकामाथि प्रश्न उठायो।

हेमन्त बस्याल नेप्सेको अध्यक्ष रहँदासम्म चापागाईंको सञ्चालक समितिसँगको सम्बन्धसमेत सहज रहेन। नेप्सेभित्रै नेतृत्व र बोर्डबीच आवश्यक समन्वय नहुँदा सुधारका धेरै मुद्दा अलपत्र परेको आरोप लाग्दै आएको थियो। सार्वजनिक सञ्चारमाध्यम, लगानीकर्ता समूह र बजारका विज्ञहरूसँग पनि उनको संवाद प्रभावकारी हुन सकेन।

उनले ब्रोकर कार्यालयमा आकस्मिक निरीक्षण गर्ने अभ्यास सुरु गरेका थिए। तर, त्यो पहल पनि सुधारको ठोस कदमभन्दा बढी प्रचारमुखी र विवादास्पद बनेको टिप्पणी भयो। निरीक्षणपछि बजार प्रणाली सुधार्ने स्पष्ट रोडम्याप सार्वजनिक हुन नसक्दा त्यो कदमले पनि दीर्घकालीन प्रभाव पार्न सकेन।

सेयर बजारका विज्ञ रविन्द्र भट्टराईले चापागाईंको कार्यकालबारे सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै उनले नेप्सेमा गर्न सक्ने कुनै पनि महत्वपूर्ण काम नगरी जागिर खाएर गएको टिप्पणी गरेका छन्। भट्टराईले आज किनेर आजै बेच्न सकिने व्यवस्था, उधारो कारोबार बन्द, कारोबार खाता र बैंक खाता लिंक, स्वतः इडीआईएस, लाभांश सीधै कारोबार खातामा जम्मा हुने प्रणाली, मार्जिन कारोबार, अप्सन र ईटीएफ कारोबारजस्ता कुनै पनि सुधार लागू नगरेको उल्लेख गरेका छन्।

त्यस्तै, नेप्से-३० इन्डेक्सको विषयमा हल्ला गरिए पनि कार्यान्वयन नभएको, ब्रोकर कारोबार खाताबाटै आईपीओ भर्न सकिने व्यवस्था नल्याइएको, किनेपछि तत्काल खातामा सेयर आउने र बेचेपछि तत्काल पैसा आउने प्रणाली सुरु नगरिएको, ओटीसी कारोबार अनलाइन नबनाइएको तथा नेप्सेको वेबसाइटसमेत सूचनामैत्री हुन नसकेको भन्दै उनको नेतृत्वमाथि चर्को आलोचना भएको छ।

भट्टराईले हकप्रद सेयर निष्कासनको सूचना सेयरधनीलाई इमेल वा एसएमएसबाट दिने व्यवस्था, डिम्याट खातामा हुने हरेक कारोबारको सूचना स्वचालित रूपमा पठाउने प्रणाली र ब्रोकर खाताबाटै एक क्लिकमा वार्षिक नाफा-नोक्सान तथा कर फर्छ्योट गर्ने सुविधा जस्ता आधारभूत लगानीकर्तामैत्री सुधारसमेत हुन नसकेको टिप्पणी गरेका छन्।

चापागाईंले आफ्नो कार्यकालमा न बजारलाई आधुनिक बनाउने ठोस काम गरे, न लगानीकर्ताको विश्वास जित्न सके। पूँजीबजारलाई प्रविधिमैत्री, पारदर्शी र तीव्र सेवा दिने संरचनामा लैजानुपर्ने बेलामा नेप्सेको नेतृत्व निष्क्रियजस्तै देखिएको आरोप लगानीकर्ता वृत्तमा व्यापक छ।

कतिपय लगानीकर्ताले त उनको राजीनामापछि सामाजिक सञ्जालमा “नेप्सेमा चूडामणि चापागाईं भन्ने सीईओ थिए र ?” भन्दै व्यंग्यसमेत गरेका छन्। यो व्यंग्यले उनको कार्यकाल कति कमजोर र प्रभावहीन ठानिएको थियो भन्ने संकेत गर्छ।

विगतसमेत विवादास्पद रहेको आरोप खेपेका चापागाईंले नेप्सेको नेतृत्वमा आएपछि आफ्नो छवि सुधार्ने अवसर पाएका थिए। तर, १५ महिना बित्दा उनले न संस्थागत सुधारको छाप छाडे, न प्रविधिगत रूपान्तरणको कुनै बलियो आधार बनाए। उल्टै नेप्से थप अलमल, विवाद र सुस्तताको प्रतीक बनेको टिप्पणी बजारमा छ।

त्यति मात्र होइन, सीमित जनशक्तिका भरमा बामे सर्दै आएको नेप्सेलाई संस्थागत रूपमा बलियो बनाउने र आवश्यक जनशक्ति थपेर प्रभावकारी बजार पूर्वाधार संस्थाका रूपमा उभ्याउने काममा समेत चापागाईंले कुनै उल्लेखनीय पहल गरेनन्। उल्टै, संस्थागत सुधारभन्दा आफूलाई लाभ हुने खालका गोष्ठी, तालिम, भ्रमण र भत्तासँग जोडिएका गतिविधिमा उनी बढी केन्द्रित भएको आरोप नेप्सेभित्रै सुनिँदै आएको छ। नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टमको भेन्डर वाइको प्रालिप्रति छोटो कार्यकालमै उनले देखाएको अस्वाभाविक झुकाव र फेभरबारे पनि नेप्सेका कर्मचारी वृत्तमै चर्को आलोचना हुने गरेको छ।

नेप्सेजस्तो पूँजीबजारको मुख्य पूर्वाधार संस्था नेतृत्वविहीन र दिशाविहीन हुँदा त्यसको प्रत्यक्ष असर लाखौं लगानीकर्तामा पर्छ। चापागाईंको छोटो कार्यकालले पनि यही देखायो-नेतृत्वमा व्यक्ति बस्नु मात्र पर्याप्त हुँदैन, दृष्टि, इच्छाशक्ति र कार्यान्वयन क्षमता पनि चाहिन्छ।

अन्ततः चापागाईं नेप्सेबाट बाहिरिएका छन्। तर, उनीसँगै एउटा प्रश्न भने बजारमा बाँकी छ-१५ महिना नेप्सेको कुर्सीमा बस्दा उनले पूँजीबजारलाई के दिए ? लगानीकर्ताको उत्तर स्पष्ट देखिन्छ: विवाद, निराशा र खेर गएको समय।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.