काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अग्रवाललाई बुधबार काठमाडौँको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार प्रतिवादीका रूपमा खोजी सूचीमा थिए।
अग्रवाल जोडिएको भनिएको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन छ। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
उनका छोरा सुलभ अग्रवाल समेत बैंकिङ, बीमा तथा धितोपत्र कसुरमा अदालनको आदेशपश्चात कारागारमा रहेका छन् ।
यसअघि अग्रवाललाई २०८२ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो। उनीमाथि शंकास्पद वित्तीय कारोबारसम्बन्धी अनुसन्धान गरिएको विवरण सार्वजनिक भएका थिए। पछि उनी रिहा भएका थिए।
अग्रवालमाथि लगाइएका आरोपबारे अदालतबाट अन्तिम फैसला भने भइसकेको छैन।

