काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानीका क्रममा सेवाग्राहीलाई अर्को बीमालेख खरिद गर्न कुनै पनि प्रकारको अनुचित दबाब नदिन निर्देशन दिएको छ ।
प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुलाई सूचना जारी गर्दै वैदेशिक रोजगार म्यादी जीवन बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्दा केही बीमकहरूले पुनः अर्को बीमालेख खरिद गर्न दबाब दिने गरेको गुनासो प्राप्त भएपछि यस विषयमा ध्यानाकर्षण जनाएको हो ।
प्राधिकरणले दाबी भुक्तानी बीमकको करारीय दायित्व भएकाले दाबी भुक्तानीलाई अर्को बीमालेख बिक्रीसँग जोड्न, कुनै शर्त राख्न वा नयाँ बीमालेख खरिदका लागि अनुचित दबाब दिन नपाइने स्पष्ट पारेको छ ।
निर्देशनको उल्लङ्घन गरी दाबी भुक्तानीका क्रममा बीमितलाई नयाँ बीमालेख खरिद गर्न बाध्य बनाएको वा अनुचित दबाब दिएको पाइएमा बीमा ऐन, २०७९ बमोजिम सम्बन्धित बीमकविरुद्ध कानुनी कारबाही गरिने प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बताए ।

