काठमाण्डौ । निर्धारित समयभन्दा झन्डै दोब्बर अवधि लगाएर निर्माण सम्पन्न भएको नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको यो परियोजना सुरुआती तीन महिनासम्म परीक्षणकालमा रहनेछ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नेछन्। उद्घाटनपछि केही समय एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएपछि अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई क्रमिक रूपमा सञ्चालन अनुमति दिइने आयोजना कार्यालयले जनाएको छ।
जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले परियोजना सरकारलाई हस्तान्तरण गरिसकेको छ। अब सुरुङमार्ग सञ्चालन, मर्मत तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजना कार्यालयले सम्हाल्नेछ।
सम्झौताअनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने परियोजना विभिन्न कारणले ८० महिनापछि पूरा भएको हो। आयोजना सम्पन्न गर्न करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ, जसमा निर्माण कार्यमा १७ अर्ब, लागत वृद्धि र विनिमय दरका कारण २ अर्ब तथा जग्गा अधिग्रहणमा ६ अर्ब रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ। कुल लागतमध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण रहेको छ भने जग्गा मुआब्जा नेपाल सरकारले व्यहोरेको हो।
परियोजनाअन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङमार्ग र आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ। यसका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
सरकारले यसअघि नै सवारीसाधनको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म टोल शुल्क निर्धारण गरिसकेको छ। परीक्षणकाल सम्पन्न भएपछि नियमित रूपमा शुल्कसहित सुरुङमार्ग सञ्चालन गरिनेछ।

