काठमाण्डौ। दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा नयाँ बिक्री केन्द्र (आउटलेट) विस्तार गर्ने भएको छ। संस्थानले यही साउन महिनाभित्र उपत्यकाका विभिन्न क्षेत्रमा ३० वटा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको हो।
उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा र मोडेलअनुसार सेवा प्रवाह गर्ने योजना अघि सारेको छ। डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा नयाँ आउटलेट सञ्चालनको तयारी भइरहेको छ।
यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ सजावटसहितको आउटलेट सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित कार्यक्रममा महाप्रबन्धक पाण्डेले उक्त आउटलेटको उद्घाटन गरेका हुन्।
आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने वसन्तपुर क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको आउटलेटबाट उपभोक्ताले डिडिसीका दूध तथा विभिन्न दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
डिडिसीले हाल साधारण दूध, गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायतका उत्पादन बिक्री गर्दै आएको छ। संस्थानका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको डिडिसीले जनाएको छ।
निकट भविष्यमा काठमाण्डौ उपत्यकाबाहिरका प्रमुख सहरहरूमा समेत नयाँ आउटलेट विस्तार गर्ने योजना रहेको छ।
डिडिसीले आफ्ना उत्पादन अनलाइन माध्यमबाट बिक्री वितरण गर्ने तयारी पनि अघि बढाएको छ। केही दिनभित्रै डिजिटल मार्केटिङ सेवा सुरु गर्ने योजना रहेको जनाइएको छ ।

