काठमाण्डौ। लामो समयदेखि निर्माण कार्य अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले मकवानपुरस्थित शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। निर्धारित समयभित्र काम सम्पन्न नगरेपछि कार्यालयले कानूनी प्रक्रियाअनुसार ठेक्का तोड्ने निर्णय गरेको हो।
सडक डिभिजन भरतपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीसँगको सम्झौता समाप्त गरिएको जानकारी दिएको छ। कम्पनीले चितवनको पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने जिम्मेवारी पाएको थियो।
कार्यालयका अनुसार निर्माण सम्पन्न गर्न पटकपटक लिखित तथा मौखिक रूपमा आग्रह गरिए पनि निर्माण व्यवसायीले आफ्नो दायित्व पूरा गर्न सकेनन्। सम्झौताअनुसार तोकिएको अवधिमा काम अघि नबढेपछि ठेक्का अन्त्य गर्ने प्रक्रिया सुरु गरिएको डिभिजनले जनाएको छ।
यसअघि सडक डिभिजन कार्यालयले २०७९ पुस २० गते ठेक्का किन अन्त्य नगर्ने भन्दै कम्पनीसँग तीन दिने स्पष्टीकरण माग गरेको थियो। तर तोकिएको अवधिमा प्राप्त जवाफ सन्तोषजनक नभएको कार्यालयको भनाइ छ।
निर्माण व्यवसायीबाटै ठेक्का सम्पन्न हुने अवस्था नरहेको निष्कर्ष निकाल्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २ र ७ बमोजिम साउन ८ गतेको निर्णयबाट सम्झौता अन्त्य गरिएको हो।
ठेक्का रद्द भएसँगै कम्पनीमाथि कानूनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने सडक डिभिजन भरतपुरले जनाएको छ। साथै, कम्पनीले सम्पन्न गरेको कुनै कामको वित्तीय फरफारक बाँकी भएमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
तोकिएको अवधिभित्र निर्माण व्यवसायी वा प्रतिनिधि कार्यालयमा उपस्थित नभएमा कार्यालयले प्रचलित कानुनअनुसार आफैं वित्तीय व्यवस्थापन तथा आवश्यक प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

