सोमबार, श्रावण ११,२०८३ 05:51:05
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 05:51:05
Bizshala
Global IME Bank Limited

देवानगञ्ज घटनाको जिम्मा सरकारले लिनुपर्छ, गृहमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

शान्ति–सुरक्षा कायम गर्न गृह मन्त्रालय असफल भएको आरोप, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

देवानगञ्ज घटनाको जिम्मा सरकारले लिनुपर्छ, गृहमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस
New Office

 

काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको भन्दै घटनाबारे गृहमन्त्रीले संसद् र जनतालाई जवाफ दिनुपर्ने बताएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आङ्देम्बेले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

“यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ। शान्ति र सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भनेका छन्।

उनले नागरिकको जीउधनको सुरक्षा गर्नु सरकारको संवैधानिक दायित्व भए पनि पछिल्लो घटनाले सरकार त्यसमा असफल भएको देखाएको आरोप लगाए।

आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष तीव्र रूपमा बढ्दै गएको दाबीसमेत गरेका छन्। असन्तोषको समयमै सम्बोधन नगर्दा समाजमा भयावह र अप्रिय घटना दोहोरिन सक्ने भन्दै उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरे।

उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्।

सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमका साथ शान्ति–सुरक्षा कायम गर्नुपर्ने उनको भनाइ छ। नागरिकलाई पनि अफवाह, उत्तेजना र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियाबाट समाधान खोज्न उनले आग्रह गरेका छन्।

देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव बढेको छ। स्थानीय प्रशासनले कर्फ्यु जारी गर्नुका साथै अवस्था नियन्त्रणमा लिन कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ। सरकारले घटनाको छानबिनका लागि पाँच सदस्यीय समितिसमेत गठन गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.