बिहीबार, असार १८,२०८३ 01:24:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:24:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महाप्रसादकै दोश्रो संस्करण हुन् डा.भट्ट, लगानीकर्ता बर्बाद पार्ने नीति निर्माण उनकै सल्लाहमा हुने गरेको थियो !

Laxmi Sunrise Bank Limited
महाप्रसादकै दोश्रो संस्करण हुन् डा.भट्ट, लगानीकर्ता बर्बाद पार्ने नीति निर्माण उनकै सल्लाहमा हुने गरेको थियो !

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया यस्तरी गिजोलिएको छ कि तत्काल यसमा कुनै ठोस निश्कर्ष आउनसक्ने सम्भावना क्षीण देखिन्छ । गभर्नरको नियुक्तिमा प्रमुख सत्तारुढ घटकहरु नेपाली कांग्रेस र नेकपा एमालेबीचको तानातानका कारण प्रक्रिया नै गिजोलिएको हो ।  

पछिल्लो समय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको भनिएको राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नामले समेत नयाँ गभर्नर नियुक्ति प्रक्रिया गञ्जागोल बनाइदिएको छ । केन्द्रीय बैंकमा आफूभन्दा ५ जना वरिष्ठहरु हुँदाहुँदै मेरिटलाई मिचेर राजनीतिक पावर र केही व्यवसायिक घरानाको स्वार्थमा गभर्नर बन्न कस्सिएका डा. भट्ट लगानीकर्ताका नजरमा भने 'लोकप्रिय' पात्र होइनन् ।

New Office
CG Motors
Garima Development Bank

धेरैलाई थाहा नहुन सक्छ, गभर्नरमा डा. भट्टलाई रोक्न अदालतमा रिट दायर हुँदा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ताहरु देखिन्थे । राष्ट्रबैंकमा रहँदा डा. भट्टले विगतमा निर्वाह गरेको भूमिका र उनले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई मुख्य सल्लाहकारको रुपमा लगानीकर्तालाई हतोत्साही बनाउने नीतिलाई नजिकबाट बुझेका सेयर लगानीकर्ताहरु नयाँ गभर्नरको रुपमा डा. भट्ट आउनुलाई 'महाप्रसादको अर्को रुपको आगमन'को रुपमा बुझ्ने गर्छन् ।  

'महाप्रसाद अधिकारी गभर्नर हुनु र डा. भट्ट गभर्नर हुनुमा कुनै भिन्नता छैन । हिजोको दिनमा महाप्रसादलाई सेयर लगानीकर्ताहरुको अहित हुने गरी नीतिगत व्यवस्थाहरु गर्ने विषयमा सबैभन्दा मुख्य भूमिका नै डा. भट्टको थियो ।' राष्ट्रबैंकको नीतिगत  व्यवस्थाहरुलाई नजिकबाट नियालेका एक अग्रज सेयर लगानीकर्ताले बिजशालासँग भने-'जसरी एमाले र कांग्रेसको सहमतिमा डा. भट्टलाई नयाँ गभर्नर बनाउन खोजिएको भन्ने कुरा छ । यसले सेयर बजारका हामीजस्ता लगानीकर्ताहरुलाई उत्साहित बनाउँदैन । बरु महाप्रसाद अधिकारीको दोश्रो संस्करण सुरुवात भएको मात्र फिल दिन्छ । डा. भट्ट कुनै पनि हालतमा गभर्नर बन्नु हुँदैन । लगानीकर्ताको हितमा उनले सिन्को भाँच्ने छैनन् । बरु उल्टो प्रहार गर्ने नीति ल्याइदिनसक्छन् ।'  

ती अग्रज लगानीकर्ताले 'अफ दि रेकर्ड' भन्दै यतिसम्म सुनाए कि डा. भट्टलाई गभर्नर बन्नबाट रोक्नका लागि अदालती प्रक्रियाहरुमा सेयर लगानीकर्ताहरुकै सक्रिय भूमिका छ । केही सेयर लगानीकर्ताहरुकै योजनामा अदालत रिट दायर गरिएको समेत उनको दाबी छ ।  

राष्ट्रबैंककै केही उच्च अधिकारीहरु पनि डा. भट्टलाई महाप्रसादकै मुख्य सल्लाहकार मान्छन् । 'ऊ एकेडेमिसियन सोपिस मात्र हो । महाप्रसादलाई अर्थतन्त्र बिगार्ने गरी, लगानीकर्ताको मनोबल गिर्ने गरी र त्योभन्दा बढी सेयरबजारलाई प्रहार गर्ने गरी कतिपय नीतिगत व्यवस्था गर्न उक्साउने र मुख्य सल्लाह दिने नै भट्ट थिए ।' ती उच्च अधिकारीले नाम गोप्य राखिदिने शर्तमा बिजशालासँग भने-'अघिल्ला गभर्नरहरुको कुरा गर्नुपर्दा डिसीसिभ थिए डा. युवराज खतिवडा, दीपेन्द्र क्षेत्री पनि उस्तै थिए । टिमलाई लिएर हिँड्नसक्ने क्षमता थियो चिरञ्जिवी नेपालसँग । तर महाप्रसाद डा. भट्टजस्ता एकदुई सल्लाहकार लिएर एक्लै हिँड्न खोजे, गलत काम गर्दै हिँडे । डा. भट्ट र एकदुई अफिसर बाहेक महाप्रसादले पूरा कार्यकाल आफ्नै टिमका पनि कसैलाई विश्वास गरेनन् । राम्रो गर्नुको साटो केन्द्रीय बैंकलाई प्रयोगशाला बनाइदिए । क्रेडिट कन्ट्रोलको लिगेसी भत्काए, कालो इतिहासको नायक बने । उनले पार्टी, राजनीतिक आस्था र व्यक्ति हेरेर नियामकीय व्यवस्था कहिले टाइट गर्ने, कहिले लूज छाडिदिने गलत काम गरे । यी सबै काममा डा. भट्टको मुख्य साथ र सल्लाह हुने गथ्र्यो ।' 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हामीले कुराकानी गरेका केन्द्रीय बैंकका अधिकांश अधिकृतहरुले समेत डा. भट्टले केन्द्रीय बैंक चलाउनसक्ने क्षमता नराख्ने टिप्पणी गरे । 'डा. भट्ट भनेका पढेलेखेका व्यक्ति चाहिँ हुन् । तर केन्द्रीय बैंक चलाउनका लागि डण्डा घुमाउने गुणस्तर र दक्षता उनमा छैन ।' केन्द्रीय बैंकका अधिकृतहरु भन्छन्-' राष्ट्रबैंकभित्रकै गभर्नरका अन्य उम्मेद्वारभन्दा चाहिँ तुलनात्मक रुपमा डा. भट्ट नै ठीक हुन् । तर भट्टलाई गभर्नर बनाएर सरकारले केन्द्रीय बैंकको चेन अफ कमाण्ड बिगार्नु हुँदैन । भट्ट भन्दा वरिष्ठहरुलाई राजीनामा गर्न बाध्य पार्नुहुन्न । यसले भोलिका दिनमा केन्द्रीय बैंकका उच्च अधिकारीहरुमा निराशा गराइदिन्छ, मनोबल गिराइदिन्छ । त्यसकारण १८ औं गभर्नर नियुक्तिमा राष्ट्रबैंकभन्दा बाहिरको मान्छे ल्याउनु उपयुक्त हुन्छ । सरकारले केन्द्रीय बैंकको लिगेसी, मेरिट र सिस्टममा खेल्ने काम नगरोस् ।'  

कतिपयले चाहिँ डा. भट्टलाई अगाडि सारेर प्रधानमन्त्री केपी ओलीले गभर्नर नियुक्तिलाई अझ गञ्जागोल बनाइदिएका र एमाले क्याडर समेत रहेकी डा. निलम ढुंगानाको भरमा लामो समयसम्म केन्द्रीय बैंक चलाउने योजना बनाएको समेत आरोप लगाएका छन् । 'अदालतमा गभर्नर नियुक्तिसम्बन्धी विषय ल्याएर अल्झाई कांग्रेसलाई समेत चक्मा दिई केन्द्रीय बैंक मनमौजी ढंगले चलाउने योजना बनाइएको हुनसक्छ ।'- हामीसँग कुरा गरेका राष्ट्रबैंकका धेरै अधिकृतहरुले यस्तो शंका समेत व्यक्त गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.