काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६२.२५ अंकले बढेर २ हजार ६७२.७० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ प्रतिशतले बढेर ४५१.२४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘निरन्तरको गिरावटका कारण बजार पछिल्लो समय तल्लो सपोर्ट लेभलमा थियो । त्यसैले धेरै घटेका कारण आज बजार फर्केको हुनसक्छ अथवा भित्रि कुनै गूड न्यूजका कारणले पनि बढेको हुनसक्छ । पछिल्लो समय बजार २५८० देखि २७ सयबीचको साइडवेजमा छ ।’
यसकारण आजको मात्रै बढोत्तरीले बजार बढिहाल्यो भन्न हतार हुने तर २७ सयमाथि टिकेको खण्डमा बजारले अप ट्रेण्ड लिने उनले बताए । उनका अनुसार आज बैंक र हाई क्याप कम्पनी चल्नु सकारात्मक विषय हो ।
अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजार धेरै घटेको कारण बढेको र यही सातामै गभर्नर नियुक्ति हुने सम्भावनाका कारण बजारमा सुधार आएका बताए ।
नेपाल सेयरधनी संघका उपाध्यष कमलराज अधिकारीले पनि सकारात्मक समाचारको अपेक्षाले नै बजार बढेको बताए । ‘यो साताभित्र प्रजातान्त्रिक धारको गभर्नर आउने तथा धेरै कम्पनीको सेयरमूल्य ५२ साताकै न्यून स्तरमा आएका कारण पनि बजारमा उच्च वृद्धि देखिएको छ,’ उनले भने ।
आज कारोबारसहित सूचक पनि बढेका कारण बजार ३ हजारदेखि ३२ सय विन्दुसम्म पुग्नेमा उनी ढुक्क देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ५.५५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.८० प्रतिशत, विकास बैंक २.५९, होटल २.१४,हाईड्रो ३.१३, लगानी ०.९६, जीवन बीमा २.५४,उत्पादन तथा प्रशोधन १.१३, लघुवित्त २.२२,म्युचुअल फण्ड ०.५८,निर्जीवन बीमा २.७७, अन्य १.९९ र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानिमा माई हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड २० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५४ करोड ७९ लाख, राधी विद्युतको ४३ करोड ११ लाख, युनिभर्सल पावरको ४२ करोड ६३ लाख र सिंगटी हाईड्रोको ४१ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,बुटवल पावर,ओम मेगाश्री फर्मास्युटिकल्स र पिपुल्स हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
जानकी फाइनान्सको सेयरमूल्य पनि आज ९.०७ प्रतिशत, दोर्दी खोला जलविद्युतको ८.६१ र इष्टर्न हाईड्रोको सेयरमूल्य ८.०६ प्रतिशतले बढ्यो ।
न्यादी हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ४.४३ प्रतिशतको गिरावट आयो ।