काठमाण्डौ । साताको पहिलो कारोबार दिन पस्किदै आएको नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि निरन्तर दिएका छौ । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।
आज राजधानीको मौसम निकै तात्तिएको थियो भने ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि ठीकै रहेको थियो । हामीले प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) बाट ग्राउण्ड जिरोको सुरुवात गर्यौ । यहाँ लगानीकर्ताहरुको उपस्थिति ठीकै देखिन्थ्यो । आज बिहानको पहिलो प्रहरमा बजार सकारात्मक नै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले होटल्स सेक्टरको चर्चा गर्दै थिए भने केहीले अझै पनि हाइड्रोमा नै चमक आउने तर्क गर्दै थिए । यहाँ भेटिएका लगानीकर्ताहरुले तेह्रथुम पावर , लिबर्टी इनर्जी कम्पनी जस्ता कम्पनीको चर्चा गर्दै थिए भने कोही सोल्टी होट्ल्सको चर्चा गर्दै थिए ।
केही समयको बसाइ पछि हामी पुतलीसडकमा नै रहेको अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति ठीकै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले आज जलविद्युत कम्पनी घटेको र होटल्स समूह चम्केको प्रतिकृया दिए । उनले थप्दै भने, ‘अब फाइनान्स समूह पनि चल्छ होला । मैले त गूडवील फाइनान्स किनेको छु । १२ सयसम्म पुगेको अहिले त आधानै घटेको छ ।’ उनले आज एचआइडिसिएलको रिपोर्ट खासै राम्रो नआएको भन्दै ब्रोकरलाई बेच्न आदेश पनि दिए । बजारमा बिस्तारै बिक्री दबाब पर्दै थियो । ब्रोकर हाउसमा केही नयाँ लगानीकर्ता पनि आँउदै थिए भने बजार घट्न थाले पछि पुराना लगानीकर्ता भने उठेर हिंड्दै थिए ।
यहाँबाट हामी श्वेता सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अझै पनि सिएचडीसी बढ्ने तर्क गरे । उनी सँगै बसेका लगानीकर्ताले सोधे, ‘होइन एनआरएन के हुन्छ ?’ उनको जबाफ एक लगानीकर्ताले यसरी दिए, ‘एउटा ठूलो ब्रोकर राधी हाइड्रो तर्फ लागेको छ । राधीबाट निस्केपछि बढ्ला एनआरएन पनि ।’
यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले खेतान समूह सोल्टी होटल्स तिर लागेको चर्चा गरे । केहीले भने अब खेलाडी हाइड्रो सेक्टरबाट होटल्स सेक्टरमा लागेको तर्क गरे ।
यस बेलासम्म दिनको १ बजिसकेको थियो । यहाँबाट हामी प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । केही भने मध्यान्नको गर्मी र घट्दो बजारका कारण हाइ काढ्दै बजार हेर्दै बसेका थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘भोलीको बिदा र गभर्नरको किचलोले बजार बढ्नै सकेन ।’
ब्रोकर हाउसमा यस्तै गलफिति चल्दै थिए । यहाँबाट हामी सेक्र्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पूग्यौं । यहाँ पनि केही लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले नेपाल रि इन्स्योरेन्सको मार्केट डेप्थ हेर्दै भने, ‘होइन हो ! साथीहरु यो कम्पनीको सेयरमा केही समय अघि १ लाख कित्ता माग थियो । अहिले त भागेको छ ।’
उनी सँगै बसेका एक लगानीकर्ताले बजारमा कम्पनी चल्न पनि माहोल चाहिने बताए । ‘पूँजीबजार सकारात्मक सेन्टिमेन्टले चल्ने हो । सोमबार बिदा परेकाले गभर्नरको टुङ्गो पनि लागेन । अन्तराष्ट्रिय माहोल पनि त्यति राम्रो देखिदैन । यही भएर बजार माथी जान सकेन ।’
ब्रोकर हाउसमा यस्तै गफ चल्दै थिए । आज २ बजे पछि बजारमा केही बिक्री दबाब परेका कारण लगानीकर्ता अन्यौलमा देखिन्थे ।