काठमाण्डौ । स्पेनले २०२६ फिफा विश्वकपको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ। यस जितसँगै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ।
स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। ओयार्जाबालले ३६औँ र ८९औँ मिनेटमा गोल गरे भने पोरोले ६६औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।
खेलभर बलमाथि नियन्त्रण जमाएको स्पेनले लगातार आक्रमण बुन्दै अस्ट्रियामाथि दबाब कायम राख्यो। मार्क कुकुरेलाले दुई गोलका लागि निर्णायक पास दिए भने लामिन यामालले आक्रमणमा प्रभावशाली प्रदर्शन गरे। स्पेनको एक गोल अफसाइडका कारण रद्द भएको थियो भने एक प्रहार क्रसबारमा लागेको थियो।
खेलपछि ओयार्जाबालले टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले अस्ट्रियालाई शारीरिक रूपमा बलियो टोली भए पनि स्पेनले योजनाअनुसार उत्कृष्ट खेल प्रस्तुत गरेको बताए।
यस जितसँगै स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

