काठमाण्डौ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
साथै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा र दैनिक गतिविधिमा विशेष सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

