काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १६.७९ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनी ३१ करोड २ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५४ करोड ३७ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको साधारण खर्च १९ करोड ९१ लाख, वितरण खर्च ९ करोड ९३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ९ करोड ९३ लाख र वित्त खर्च ६१ लाख ४० हजार रुपैयाँ रहेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६२ करोड ८० लाख र कुल चालु दायित्व २७ करोड ५६ लाख रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक ६.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०७.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.६७ गुणा र तरलता अनुपात २.२८ प्रतिशत कायम भएको छ ।