काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ४४ करोड २९ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको तुलनामा २३.८८ प्रतिशतले कम हो । कम्पनीले कर्मचारीको तलब तथा सेवा सुविधाका लागि १ करोड ९२ लाख, सञ्चालन तथा मर्मतका लागि ३ करोड ५२ लाख र प्रशासनिक सञ्चालनका लागि ५८ लाख २ हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै कम्पनीको वित्त खर्च १२ करोड २७ लाख र सामाजिक उत्तर दायित्वअन्तर्गत १५ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । १ अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम शिर्षकमा १७ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ४५ करोड ८० लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति ५३ करोड ५७ लाख रुपैयाँ र कुल चालु दायित्व ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.६९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४६.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५९.६९ गुणा र तरलता अनुपात १.४२ प्रतिशत कायम भएको छ ।