काठमाण्डौ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको जेट विमान ह्वाइट हाउसबाट अनुचित फाइदा लिनका लागि नभएको बताएका छन् ।
ट्रम्पले हालै गरेको खाडी देशहरुको भ्रमणको बेला कतार सरकारले उनलाई ४ सय मिलियन मूल्य पर्ने बोइङ ७४७ जेट विमान उपहार स्वरुप प्रदान गर्ने प्रस्ताव गरेको थियो । कतारले यस्तो प्रस्ताव गरेपछि अमेरिकामा विपक्षी पार्टीका नेताहरुले अमेरिकाबाट अनुचित फाइदा लिनका लागि यस्तो प्रस्ताव गरिएको भन्दै चर्को विरोध गरेका थिए ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत उक्त प्रस्ताव गरिएको विमान आएपछि राष्ट्रपतिका लागि प्रयोग हुँदै आएको ४० वर्ष पुरानो एयर फोर्सको विमान अस्थाई कालका लागि विस्थापित गरिने बताएका थिए । यसका साथे उनले उक्त विमान आगामी प्रेसिडेन्सियल लाईब्रेरी फाउण्डेशनमा प्रयोग हुने समेत बताएका थिए ।
विमान उपहार दिने प्रस्तावको विरोध भएपछि कतारका प्रधानमन्त्री शेख मोहम्मदले यसलाई सामान्य भएको बताएका छन् । ‘कतार र अमेरिकाको सम्बन्ध एकदमै संस्थागत छ । विमान प्रदान गर्ने निर्णय रक्षा विभागको हो र यो पारदर्शी र कानुनी रुपमा गरिएको छ । यो हाम्रो सहकार्यको एक हिस्सा हो र हामी यस्तो संयुक्त रुपमा दशकौंदेखि गर्दै आईरहेका छौं’ उनले भने ।
ट्रम्पको भ्रमणको क्रममा कतार एयरवेजले बोइङको १६० वटा विमान खरिद गर्ने सम्झौता गरेको थियो । जसलाई कम्पनीको हालसम्मकै ठूलो खरिद सम्झौता भनिएको छ ।