काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.११ लाई शवदाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेकोे छ ।
कोहलपुर नगरपालिका–११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाह गृहले स्थानीयबासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यका लागी सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्ंचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।