काठमाण्डौ । सरकारले बैशाख महिनामा पूँजी बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम गत चैत महिनाको तुलनामा ७७ प्रतिशले बढी हो । चैत्र माहिनामा सरकारले पूँजीबजारबाट करिब ७० करोड मात्रै राजश्व संकलन गरेको थियो ।
जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ६३ करोड ५० लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३३ करोड ७१ लाख तिरका छन् ।
यस अवधिमा संस्थागत लगानीकर्ताहरुले २५ करोड २३ लाख र स्टक डिलरहरुले करिब ४७ लाख कर तिरेका छन् । गत महिना यसरी धेरै राजश्व उठ्नुको कारण पूँजीबजार चलयमान हुनु तथा प्राथमिक सेयरको निष्कासन दोस्रो बजारमा आउदा लगानीकर्ताले सेयर बेच्नु हो ।
धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् । सरकारले यसरी पूँजीबजारबाट एकै महिनमा अर्ब माथि कर उठे पछि आगामी बजेटमा करका दर हेरफेर हुन सक्ने पनि केही बजार जानकारहरुको मत रहेको छ ।