काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमण र रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीको व्यवस्था गरेको छ । हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्छन् ।
यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।
वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, यूरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन्
राहदानी सुविधाबापत सटही सुविधा माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्दछ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बन्न सबैलाई आग्रह गरेको छ ।