काठमाण्डौ । बजेट संशोधनको माग गर्दै विपक्षी दलहरूले लगातार अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक फेरि प्रभावित भएको छ। बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी का सांसदहरूले सदन अवरुद्ध गरेपछि सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका योजनालाई प्राथमिकता दिँदै टुक्रे बजेट ल्याएको आरोप लगाए। यस्तो बजेटले संघीयताको मर्मविपरीत काम गरेको दाबी गर्दै बजेट संशोधन नभएसम्म सदन चल्न नदिने अडान उनले दोहोर्याए।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेटमा संशोधन वा छानबिन समिति गठन नगरेसम्म प्रदेशसभा सञ्चालन हुन नसक्ने स्पष्ट पारे। विपक्षी सांसदहरूको नाराबाजी र अवरोधपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरे।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण सुरु भएको केही समयमै १० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन सकेको थिएन। लगातार दोस्रो दिन पनि सहमति जुट्न नसक्दा मधेश प्रदेशको बजेट विवाद अझ गहिरिएको देखिएको छ।

