काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे ३५ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा निर्जीवन बीमकहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।
यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.७६ प्रतिशत मात्रै बढी हो । गत आवको वैशाख मसान्तसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले सो अवधिसम्म ४ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ३.१० प्रतिशत बढी हो ।
त्यस्तै, सगरमाथा लुम्बिनीले ४ अर्ब ४ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ४७ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ८ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब २ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड, एनएलजीले २ अर्ब ४२ करोड, दि ओरियन्टलले २ अर्ब २५ करोड, सानिमा जिआइसीले २ अर्ब ९ करोड, युनाइटेड अजोडले २ अर्ब ९ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।
गत आवको तुलनामा ४ बीमा कम्पनीको व्यवसाय घटेको छ भने बाँकी १० कम्पनीको बढेको छ ।
सर्वाधिक व्यवसाय बढाउनेमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय ३७.११ प्रतिशतले बढेको छ । त्यस्तै, यता एनएलजी इन्स्योरेन्सले पनि १८.८९ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।
गत आवको तुलनामा व्यवसाय घट्नेमा युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स रहेको छ ।
