काठमाण्डौ । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने नेप्सेका अध्यक्ष बेलाबेलामा परिर्वतन हुँदा फेरि एकपटक नेप्सेको पुनर्संरचना र एसएमई प्लेटफर्म जस्ता विषय ओझेलमा परेका छन् । पूर्व अर्थसचिब रामेश्वर खनाल संयोजकत्वमा बनेको समितिले हालको नेप्सेको पुनर्संरचना गर्दै क्षमता विस्तार गर्ने सुझाव दिएता पनि नेप्से पुनर्संरचनाको विषय संधै अन्यौलतामै रहेको देखिन्छ ।
खासगरि, विभिन्न स्वार्थ समूहको स्वार्थ र अर्थमन्त्रालयकै अनिच्छाका कारण नेप्सेको पुनर्संरचना वर्षौदेखि अलमलमा परिरहेको छ । हरेक बजेटमा जस्तै नेप्सेको पुनर्संरचना गरिने छ भन्ने पुरानै रटान यसपालीको बजेटमा पनि आउने निश्चिन प्रायः नै छ । तर विदेशि साझेदारसहितको नेप्से पुनर्संरचनाको विषय लामो समयदेखि अलपत्र रहेको छ ।
यसरी अलपत्र पर्नुमा नेपाल स्टक एक्सचेञ्जले पठाएका धेरै फाइल अर्थ मन्त्रालयमै हराउनु मुख्य कारण हो । नेपाल स्टक एक्सचेञ्जको बोर्डमा अर्थ मन्त्रालयबाटै प्रतिनिधित्व हुने गर्छ । खासगरि अर्थ मन्त्रालयबाट नेप्सेमा प्रतिनिधित्व हुने अध्यक्ष ६÷६ महिना भन्दा लामो समय हुँदैनन् । निवर्तमान अध्यक्ष शोभाकर पौडेल पनि छोटो समयमा नै सरुवा भएर अन्यत्र नै गएका छन् भने त्यस अघिका भूपाल बराल पनि लामो समय नेप्सेको अध्यक्षको भुमिकामा रहेनन् ।
अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्नेलाई केही समय पूँजीबजार बुझ्नै समय लाग्छ । बुझि सकेपछि अन्यत्र नै सरुवा हुने गर्छन् । त्यसैले नेप्सेको पुनर्संरचना र विदेशि साझेदार भित्राउने विषय वर्षौदेखि अलपत्र परेको छ । नेप्सेको पुनर्संरचना मात्रै नभएर नयाँ–नयाँ प्रडक्टको विषय पनि त्यस्तै नै रहेको छ । यस अघि ल्याउने भनिएको नेप्से ३० को विषय हराएरै गयो भने सबै काम सकेर तयार भएको एसएमई प्लेटफर्म को पनि त्यहि हबिगत भएको छ ।
किन आएन एसएमई प्लेटफर्म ?
खासगरि, एसएमई प्लेटफर्मसम्बन्धी अधिकांश काम नयाँ सीइओ आउनु भन्दा अघि कामु सीईओ निरञ्जन फुयाँलकै समयमा सकिएको थियो । त्यही अनुसार सीडीएससी पनि तयार अवस्था मै रहेका थियो । तर नयाँ सीईओ चूणामणी चापागाई आए पछि नेप्सेको बोर्ड बैठक नै बस्न सकेन । तत्कालिन अध्यक्ष शोभाकर पौडेल विदेश भ्रमणमा गएका थिए विदेश फिर्तीपश्चात उनको पनि अन्यत्र नै सरुवा भईसकेको छ । हाल अर्थमन्त्रीले बजेटको चटारोका कारण समय दिन सकेका छैनन् । अर्थमन्त्रीकै समय अभावका कारण नेप्सेमा नयाँ अध्यक्ष पठाउने विषय अन्यौलतामा परेको छ ।
पुनर्संरचना बिना किन हुँदैन नेप्सेको विकास ?
सेयर बजारमा लगानीकर्ताहरु सँधै प्रडक्ट र नयाँ–नयाँ फिचरको सपना देख्ने गछनर्् । छिमेकि मुलुकमा भारतमा ‘टी प्लस जिरो’को व्यवस्था आईसकेको छ । नेपालमा अप्सन मार्केट तथा फ्युचर मार्केटको विषय त धेरै टाढाको विषय हो ।
लगानीकर्ताले भुलबस बेचेको सेयर सेटलमेन्टको व्यवस्था हुने अक्सन मार्केटको व्यवस्थासम्म नेप्सेले गर्न सकेको छैन । यी सबै विषय अर्थ मन्त्रालयले त बेवास्ता गरेकै छ, लगानीकर्ताहरु र तिनका नेताहरुले पनि बजार घटेको बेला मात्रै भृकुटी मण्डप र माइतीघर सम्झिन्छन् । हाल च्याउ झै उम्रेका लगानीकर्ता संगठनहरु पनि लगानीकर्ताहरुको मूख्य मागमा भन्दा प्रचारवाजीमै मस्त देखिन्छन् । यी र यस्तै कारणले सबै सरोकारवालको बेवास्ताका कारण नेप्सेको विकास हुन सकेको छैन ।