काठमाण्डौ । एप्पलको अपकमिङ फोन अर्थात आईफोन १७ सिरिजको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भईरहेका छन् । यस्तोमा हालै आईफोन १७ प्रो म्याक्सको एउटा ह्यान्ड्स अन भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डिजाइन प्रष्ट रुपमा देख्न सकिन्छ । यो फोन आईफोन १६ प्रो म्याक्सको तुलनामा अधिक मोटो हुनेछ ।
कम्पनीले आईफोन १७ सिरिजलाई यो वर्षको सेप्टेम्बर महिनामा लञ्च गर्न सक्ने जनाइएको छ । तथापी यसको लञ्चिङको विषयमा कुनै निश्चित मिति भने सार्वजनिक भईसकेको छैन । आईफोन १७ प्रो सिरिजमा ठूलो डिजाइनसहितको परिवर्तन देख्न सकिने जनाइएको छ ।
टिप्स्टर माजिनबु अफिसियलले एउटा भिडियो सेयर गरेको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डमी देखाइएको छ । आईफोन १७ प्रोको भिडियो सार्वजनिक भएको यो कुनै पहिलोपटक भने होइन । उक्त भिडियोमा रियर तथा फ्रन्ट फेस स्पष्ट रुपमा देख्न सकिन्छ ।
यसका साथै, साइडबाट पनि फोनको ओभर भ्यू देख्न सकिन्छ । समग्रमा भिडियोमा फोनको बारेमा थुप्रै डिटेल्सहरु देख्न सकिन्छ । रियर प्यानलमा नयाँ क्यामेरा मोड्युल देख्न सकिन्छ, जुन एउटा साइडबाट दोस्रो साइडसम्म फैलिएको छ । फोनको बायाँ भागमा तीनवटा क्यामेरा दिइएको छ । यस्तै एलईडी फल्यास तथा लिडार स्क्यानर राइट साइडमा दिइएको छ ।
भिडियोमा फोनको डाइमेन्सनको बारेमा जानकारी भने छैन । तर हेर्दा यो आईफोन १६ प्रो म्याक्सको तुलनामा केही मोटो देखिन्छ ।