काठमाण्डौ । चैत्रको पहिलो साता २७ सयबाट तल खसको बजारले त्यसपछिको तीन महिनाको अवधिमा लगातार ५ औं प्रयासमा पनि २७ सयको बिन्दुलाई ब्रेक गरेर माथि जान सकेको छैन ।
चैत र बैशाख महिनामा मात्रै बजारले डबल टप बनाएर तल खस्यो । त्यसपछि जेठ महिनामा पनि बजारले ट्रिपल टप बनायो । तर २७ सयलाई ब्रेक नै गरेर माथि जान सकेन । यो बिचमा बजारको कारोबार भने सन्तोषजनक नै रहेको देखिन्छ ।
औसतभन्दा कारोबार राम्रै देखिन्छ । लगानीकर्ताका लागि यो समय निकै महत्वपूर्ण पनि हो । किनकि यही अवधिमा सरकारको नीति तथा कार्यक्रम, बजेट तथा मौद्रिक नीतिको समीक्षा पनि सकारात्मक नै आए । तर पनि बजारले पटक–पटकको प्रयासमा पनि २७ सय माथिको यात्रालाई तय गर्न सकेको छैन ।
किन माथि जान सकेन बजार ?
केही बजार जानकारहरुको तर्कअनुसार हाल बजारमा केही सीमित कम्पनीहरु मात्रै चले । समग्र सेयर बजारलाई प्रभाव पार्ने क्षेत्र जस्तो बैंकिङ क्षेत्र चल्न सकेन । ब्रोकरहरुकाअनुसार सेयर बजारमा पछिल्लो तीन महिनादेखि एउटा पनि नयाँ लगानीकर्ता आएनन् । भएकै पैसा र पोर्टफोलियोबाट सेयर बजार चलेको छ ।
केही आइपिओ र हकप्रदबाट पैसा बाहिर गएको छ । लगानीकर्ताहरु भएकै पोर्टफोलियोलाई यताउता मात्रै गरिरहेका छन् । यहीकारण बजारले २७०० को विन्दूलाई ब्रेक गर्न सकेन ।