काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोका लागि आज हामी अनामनगर र पुतलीसडक आसपासका ब्रोकरहाउसहरु पुगेका थियौं । हामी ११ बज्दा नबज्दै सबैभन्दा पहिले सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । बिहान पहिलो प्रहरमा यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो भने बजारमा पनि बिस्तारै बिक्री दबाब पर्दै गरेको देखिन्थ्यो ।
ब्रोकर हाउसमा लगानीकर्ता यताउता गर्दै गरेको देखिन्थ्यो । यतिकैमा एक लगानीकर्ता उठेर केही सेयर बेच्न भन्दै कारोबार शाखा तर्फ लम्किए । ब्रोकर हाउसमा फोनका घण्टी बझिरहेको थियो भने लगानीकर्ताहरुमा बेचैनी देख्न सकिन्थ्यो । केही समयको बसाई पछि हामी नजिकै रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं ।
यहाँ भने लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो । मध्यान्हको १२ बज्दै थियो भने बजार करिब १५ अंकले तल खस्दै थियो । यतिकैमा एक लगानीकर्ताले भने, ‘अघिल्लो साता जलविद्युत कम्पनी बढेको कारण बजार बढेको थियो । आज जलविद्युत कम्पनी घटेका कारण बजार पनि घटिरहेको छ ।’
यसै ब्रोकरमा केही लगानीकर्ताहरुले अमेरिकाले इरानमा आक्रमण गरेका कारण बजार घटेको हुन सक्ने आँकलन समेत गरे । ती लगानीकर्ताले अब तेलको मुल्य बढ्ने तथा अन्तर्राष्ट्रिय कारणले बजार घटेको लख काटे । एक लगानीकर्ताले असारको प्रभाव देखिदै गएको तर्क गरे । उनी सँगै बसेका लगानीकर्ताले भने खेलाडी र ब्रोकरहरु मिलेर बजार घटाएको आरोप समेत लगाउन भ्याए । उनले थप्दै भने, ‘अहिले बजारमा ४÷५ वटा कम्पनी बाहेक अरु चलेका नै छैनन् । सेयर किनेर खातामा आउदा आधा घटी सक्छ । अहिले त सेयर किन्यो कि फस्यो । एक दिन हरियो हुन्छ अर्को दिन घटिहाल्छ । यस पाली बजारले कारोबारीहरुलाई निकै थकायो ।’
उनले आज सबै क्षेत्र घटेको देखाउदै भने, ‘मैले त आज मध्यभोटेकोशी किनेको १५ रुपैयाँ घटिसक्यो । भोली पनि बजार यस्तै हुन्छ भन्न सकिन्न । केही ठूला खेलाडी पनि बजारमा फसेका छन भन्ने स्ुनिन्छ । खेलाडीहरुको धेरै ब्रोकरमा उधारो पनि छ ।’ धेरै लगानीकर्ताको कणाली बिकास बैंकमा फसेको र बजारमा नयाँ पैसा आउन नसकेको समेत उनले बताए । अहिले धेरै लगानीकर्ताहरु खेलाडी भन्दा पनि बाठा बनेको उनले बताए । ब्रोकर हाउसहरुमा यस्तै गलफति चल्दै थिए ।
यहाँबाट हामी नजिकै रहेको प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका लगानीकर्ताहरुले आज बजार घट्नुमा अन्तराष्ट्रिय कारण रहेको बताए । तर केहीले आजको घटाईलाई असार महिनाको प्रभाव भएको समेत बताए । उनीहरुले हाईड्रो कम्पनीको सुचक ३ सय अंकले बढेको र त्यसैमा करेक्सन आउदा आज बजार घटेको तर्क गर्दै थिए ।
केही समयको बसाईपछि हामी नजिकै रहेको अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । बजार घटेकोमा यहाँ पनि लगानीकर्ताहरु आश्चर्यमा देखिन्थे । एक लगानीकर्ताले बजार २ बजेपछि फर्कने आशा व्यक्त गरे । उनलाई ठट्यौली पारामा जवाफ दिँदै एक लगानीकर्ताले भने ‘भने बजार त त्यस्तै हो साथी हामी भने घर फकिन्छौं । सरकारले नीतिगत काम केही गर्न सकेको छैन । एनआरएनलाई पूँजीबजारमा ल्याउने भनेको १२ वर्ष भयो तर काम हुन सकेको छैन । सबै कुरा बजेट भाषणमा मात्रै सीमित हुन्छ । खेलाडीले एका दूइ कम्पनी चलाएका छन्,’ उन्ले थप्दै भने ‘सेयर बजारमा आउनेको कालो कपाल सेतो हुन्छ । भन्न मात्रै सजिलो छ रातोमा किन्ने हरियोमा बेच्ने तर यो बजारमा गरिखान भने धेरै गाह्रो छ । ’