काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बीमा क्षेत्रमै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ ले सेयरबजारमा लगानी १७७२.६५ प्रतिशतले बढाएको छ ।
यो फण्डको कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ रहेको छ भने योजना व्यवस्थापकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड रहेको छ । वैशाखमा मात्रै सर्वसाधारणका लागि इकाई बिक्री गरेको यो फण्डले दुई महिनाभित्रै १४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयरबजारमा लगानी गरेको छ ।
फण्डले पहिलो महिनामा भने जम्मा ५ वटा कम्पनीको सेयरमा मात्रै कुल ७७ लाख १६ हजार रुपैयाँको लगानी गरेको थियो । जेठ मसान्तसम्म आइपुग्दा फण्डले २६ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।
फण्डको लगानी बढाउन योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले कम्पनी छानेपनि लगानीका लागि कोषको व्यवस्था भने रिलायबल नेपाल लाइफले गर्दछ ।
फण्डले जेठ महिनासम्ममा ९ वटा वाणिज्य बैंक, दुई विकास बैंक, एक हाइड्रो कम्पनी, तीन बीमा कम्पनी, एक व्यापार कम्पनी, एक लगानी कम्पनी, तीन लघुवित्त संस्था, दुई म्युचुअल फण्ड, एक होटल र दुई अन्य समूहका कम्पनीमा लगानी गरेको छ ।
यसअघि वैशाखमा फण्डले नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र नेपाल टेलिकम गरी ५ वटा कम्पनीमा मात्रै लगानी गरेको थियो । रिलायबल समृद्धि योजनाले जेठमा २ लाख ८८ हजार ९८० कित्ता सेयर थप गरेको छ । जसमा फण्डले १३ करोड ६७ लाख ८१ हजार रुपैयाँ लगानी रकम बढाएको छ ।
रिलायबल समृद्धि योजना एक बन्दमुखी प्रकारको फण्ड हो । यो १० वर्षे अवधिको योजना हो । यस योजनाले सेयरबजार वा मुद्दती निक्षेपमा लगानी गरी कमाएको खुद नाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गर्नेछ । खुद नाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम सञ्चित मुनाफा पुनः लगानीका लागि उपयोग गर्न सकिने सुविधा समेत यो योजनामा दिइएको छ । लगानीकर्ताहरुले दोस्रो बजारमार्फत पनि यो योजनाको इकाईहरु खरिद गर्न सक्नेछन् ।
रिलायबल समृद्धि योजनाका लगानीकर्ताले पहिलो वर्ष नै ८.३२ प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएको छ । त्यस्तै, दोस्रो वर्ष १३.४५ प्रतिशत प्रतिफल वितरणको अनुमान गरिएको छ ।
