काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगर आसपास रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।
यसै सिलसिलामा सबैभन्दा पहिले हामी कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)मा पुग्यौं । अघिल्लो साता बजार राम्रै अंकले बढेका कारण ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै देखिन्थ्यो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे ।
यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ एचआरएलले गति लनि थाल्यो । यसमा त हकप्रदको हल्ला पनि छ त बजारमा ।’ ब्रोकर हाउसमा केही लगानीकर्ता टिकटक बनाउन मस्त देखिन्थे भने केही लुँडो खेल्न पनि व्यस्त देखिन्थ्यो । यतिकैमा टिकटक बनाउँदै गरेको एक लगानीकर्ताले भने, ‘जिन्दगी रमाइलो छ है साथिहरु ! तर के गर्नु घरिघरि बैंकले फोन गरेर तनाब दिन्छ र पो ! ।
बजार केही अंककले बढ्दै थियो । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताले यसपटक बजारले ढिलो चाँडो ३२ सयको विन्दु पार गर्ने दाबी पनि गरे । उनको भनाईमा सहमति जनाउदै गर्दै एक लगानीकर्ताले भने, ‘अहिले नै नभए पनि यसपटक साउन÷भदौमा त बजारले ३२ सय कसरी नकाट्ला ? त्यो बेलामा धेरै सकरात्मक न्यूज आउछन् । बजारले पनि गति लिन्छ । अहिलेसम्म जति फस्नु थियो फसियो, तर यसपटक त निस्कन पर्छ ।’
‘३२ सय कटेपनि हाम्रो सेयर के हुन्छ भन्ने पनि हो नि ? हामीसँग त बैंक र इन्स्योरेन्स मात्रै छ’ अगाडीबाट एक लगानीकर्ताको स्वर सुनियो । ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए । केही समयको बसाइपछि हामी नजिकै रहेको दीपशिखा धितोपत्र स्टक ब्रोकर नम्बर ३८ मा पुग्यौं ।
यहाँ केही महिला लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । महिला लगानीकर्ता आउदै गरेको हरितालिका तिजको बारेमा गफ गर्दै थिए । ‘लौ साथीहरु तीज आउन थाल्यो । बजार बढेको छैन । यसपाली तीज त जस्ले बजारबाट पैसा कमायो उसैले स्पोन्सर गर्ने है !’एक महिला लगानीकर्ताले बोलिन् । छेउकै एक साथीलाई देखाउँदै अर्की लगानीकर्ताले भनिन् ‘ महिला लागनीकर्ताले बजारबाट कति पैसा कमाए भन्ने त घाँटी हेरेर नै थाहा हुन्छ ।’ उनले फरी थप्दै भनिन्, ‘आफ्नो त भएको सुन जति यहि सेयरबजारको भित्तोले खाईसक्यो । अब सुन लगाउनेले नै स्पोन्सर गर्नुपर्ला यो तिजमा त ।’ केही लगानीकर्ताहरु भने असारको ब्याज तिर्ने विषयमा चर्चा गर्दै थिए ।
केही समयको बसाईपछि हामी अनामनगरमा नै रहेको भोले गणेश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा लाग्यौ । मध्यान्हको एक बज्दै थियो । यहाँ लगानीकर्ताको उपस्थिति ठीकै देखिन्थ्यो । यस ब्रोकरमा केही लगानीकर्ता क्लबहाउ स्ुनेर बस्दै थिए । क्लबहासबाट एक लगानीकर्ता अब फाइनाँन्स सेक्टर बढेको र बैंक पनि बढ्ने आँकलन गर्दै थिए । ‘ यो विषयमा उल्टो हुन्छ है ! बैंक नबढ्दा मात्रै फाइनान्स बढ्छ,’ एन लगानीकर्ताले प्रतिक्रिया जनाए ।
अब हाम्रो अर्को गन्तव्य थियो, आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) । यस ब्रोकरमा भेला भएका लगानीकर्ताहरु सेयर बजारको गफमा मस्त देखिन्थे ।
अग्रपंतिमा पुरुष लगानीकर्ता बसेका थिए भने अन्तिममा महिला लगानीकर्ता । यतिकैमा एक पुरुष लगानीकर्ताले भने ‘अहिलेको बजारमा नयाँ आएको त कोहि पनि फसेको छैन । सबै पुरानै लगानीकर्ता हो फसेको । मेरो एउटा नयाँ साथि थिए उनले त कमाएर नै गए । यहाँ त कामाएर जानेले पो जित्ने रहेछ साथीहरु । हामी त एउटा बेचे पछि के किनौ के किनौ हुन्छ । अनि हिसाब बराबर ।’ उनको यस्तो कुरा सुनेपछि एक महिला लगानीकर्ताले पछाडीबाट भनिन् ‘के को हिसाब बराबर ? म त घाटै मा छु ।’
त्यसपछि एक पुरुष लगानीकर्ताले भने, ‘मैले त फरवार्ड माइक्रो फाइनान्समा १० लाख भन्दा बढी घाटा खाए । के गर्नु सुरु सुरुमा बजार बुझिएन । मैले पनि न्यादी हाइड्रो र महालक्ष्मी बिकास बैंकमा घाटा खाएको छु,’।
यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ आज नेपाल रि इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स पो बढ्न थाले ।’ यतिकैमा ब्रोकर सञ्चालक पनि फ्लोरमा टुप्लुक्कै आइपुगे । उनले जबाफ दिँदै भने ‘आज एचबाट सुरु हुने कम्पनीहरुमा माहोल आउदै छ रे, एचडिएल, एचाइडिसिल र एचआरएल । आज खेलाडीले ‘एच’ भने जस्तो छ ।
ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए । केही लगानीकर्ताले शिवम सिमेन्टमा धेरै लगानीकर्ताले घाटा खाएकोृ चर्चा गर्दै थिए । हामीले भने आजको लागि बटि मार्ने निधो गर्यौं ।