काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी बानेश्वर र अनामनर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । अघिल्लो सातादेखि निरन्तर बढेको बजारमा आज पनि पहिलो प्रहरमा बजार राम्रै अंकले बढेको थियो ।
हामीले नागरिक स्टक डिलर(स्टक ब्रोकर न.६० )बाट यात्राको थालनी गर्यौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । लगानीकर्ताहरु आ–आफ्नाको ल्यापटपमा कारोबार गर्न मस्त देखिन्थे । केही लगानीकताहरु भने ब्रोकरहरुलाई कोल्याट्रल लोड गरिदिन फोनमार्फत अनुरोध पनि गर्दै थिए ।
यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ ! राधी फालेको आज बढेको छ त । एचआरएल पनि बढ्न थाल्यो है ! साथीहरु ।’ उनी सँगै बसेका लगानीकर्ताले भने ‘एचआरएल त एनआरआईसी चल्दा चल्ने हो होइन भने त बढ्न कठिन पो छ त ।’
बजार तेज गतिमा बढ्दै थियो । पहिलो प्रन्ध्र मिनेटमा नै एक अर्बको कारोबार भएको थियो । ‘एक छिन हेरौ है ! साथीहरु बजारले झुक्याउला,’ एक लगानीकर्ताले बोलेको सुनियो । उनले थप्दै सोधे, ‘आज बजार ३ हजार माथि टिक्ला कि नटिक्ला साथीहरु? उनीसँगै बसेका लगानीकर्ताले यसका लागि अन्तिम सयमसम्म पर्खनु पर्ने बताउदै भने, ‘लुम्बिनी विकास बैंक पनि खेलाडीले चलाएका छन् है ! । त्यो बरुण चलाउने ग्रूपले नै चलाएको हो रे ! म त पस्न सकिन तपाइहरुले बिचार गर्नु होला ।’
ब्रोकर हाउसमहरुमा यस्तै गल्फति चल्दै थिए । मध्यान्नको १२ बजिसकेको थियो । बजार रफ्तारले ३ हजार माथी कारोबार हुँदै थियो ।
केही समयको बसाईपछि हामी बुद्धनगरमा रहेको कलश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्यनै देखिन्थ्यो । बजार उकालो लागिरहेको थियो । यतिकैमा एक लगानीकर्ताले गीतको शैलीमा भने ‘बजार घट्छ भनेर करेक्सन कुरेर बसेका ‘दुश्मन’ हेरेको हेर्यै’ होलान् जस्तो छन् ।’ उनले बजारमा अब करेक्सन नआउने बताउदै इन्ट्रा डे करेक्सन मात्रै हुने दाबी समेत गर्न भ्याए । ‘हेरौं न अन्त्यसम्म,’ छेउकै एक लगानीकर्ताले भने ।
आज मध्यान्नको एक बजेसम्म ३ हजार विन्दुमाथि पुगेको बजारमा राफ्तारले कारोबार हुँदै थियो ।
हामी भने कालीका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा लाग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति निकै बाक्लो देखिन्थ्यो । केही नयाँ तथा पुराना लगानीकर्ता लामो समय पछि ब्रोकरहाउसमा आएका देखिन्थे । यतिकैमा एक लगानीकर्ता नमस्ते है, साथीहरु भन्दै ब्रोकर हाउसमा पसे ।
ब्रोकरहाउसमा पहिले नै आएर बसेका एक लगानीकर्ताले सोधे, ‘होइन, कता हो साथी आजभोली, लामो समय पछि झुल्किनु भो नि ? उनलाई जवाफ दिँदै रातो टिर्सट लगाएका ती लगानीकर्ताले भने, ‘अब बजार बढे पछि भेट् हुन्छ नि ।’ अर्का एक लगानीकर्ताले ठट्यौली पारामा भने‘तपाइ त बियर ग्याङ जस्तो छ । रातो टिसर्ट लगाएर आउनु भएछ । यस्तो रातो कपडा लगाएर बजार आउन पाँइदैन है बढेको बजार पनि घट्छ नि फेरी ! ’
ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । आज एक बजे पछि बजारमा बिस्तारै बिक्री दबाब पर्दै थियो । ब्रोकर हाउसमा केही लगानीकर्ताले अन्यलाई नआत्तिन सुझाव दिदै थिए । ‘यो बेला आत्तियर किन्ने बेला होइन है । आज किनेको सेयर खातामा आँउदा के हुन्छ भन्ने पनि महत्वपूर्ण हो । अहिले हौसिएर किन्ने होइन, भएको होल्ड गर्ने बेला हो,’ एक लगानीकर्ताले भने ।
उनले थप्दै भने, ‘बजारमा एउटा करेक्सन चाहिन्छ । नेप्से १५ दिनमा ४ सय अंक बढेको छ । एक सय अंक जतिको करेक्सन आए पछि बजार ३४ सय माथि नै पुग्छ ।’ उनी सँगै बसेका एक पुराना लगानीकर्ताले भने ‘ धेरै लगानीकर्ताहरुले करेक्सन हुन्छ भनेका छन्, करेक्सन भएर माथि गएको बजार नै दीगो हुन्छ । हामीले बिगत पनि हेर्नु पर्छ । एकै महिनामा ठूलो अंकले बढ्यो भने बजार कसरी दीगो हुन्छ ? गत वर्ष लगातार बढेको बजार टिक्न सकेन । ब्रोकरहरुलाई धितोपत्र बोर्डले पेलेको छ भन्छन् । त्यसो भए पछि ब्रोकरले पनि लगानीकर्तालाई पेली हाल्छ । अब केही दिन बजार घट्छ भने बजार दिगो हुन्छ ।’
केही समयको बसाई पछि हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहको उपस्थिति राम्रै थियो । भित्ताको घडिमा २ बजिसकेको थियो । दिनभर बढेको बजार तलमाथि गर्दै थियो । यतिकैमा एक लगनीकर्ताले घटेको बजारलाई इंगित गर्दै भने ‘ खेलाडीले बीबीसी चलाएर बजार घटाए । बजार बढाउन पनि बीबीसी र घटाउन पनि बीबीसी प्रयोग भईरहेको छ, कि होइन त साथीहरु ?’
उनी सँगै बसेका लगानीकर्ता भने, ‘बजार हामीले भने अनुसार चल्दैन । अन्त्यमा फर्कन पनि सक्छ ।’ आज २ बजे पछि बजारमा बिक्री दबाब देखिएको थियो । केही लगानीकर्ताहरु आजको करेक्सनलाई हेल्दी करेक्सनको संज्ञा दिदै थिए भने केहीले अब करेक्सन भए छुटेकालाई लिएर बजार अल टाइम हाई पुग्ने प्रक्षेपण पनि गर्दै थिए ।