काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको समग्र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधबार काठमाण्डौको भृकुटी मण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार भएको छ । अझै सुधारको आवश्यकता रहेको छ। सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्न र आर्थिक सुधार गर्नतर्फ लागि परेको छ,’ अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रबाट प्रभावकारी कार्यन्वयनमा साथ सहयोगको अपेक्षा गरेको छ ।’
यस्तै फरक प्रसङ्गमा उनले नाइमाले भविष्यमा राम्रो प्रगति गर्छ भन्ने विश्वास लिएको बताए । प्रदर्शनिको व्यवस्थापन स्तरिय भएको भन्दै उनले नयाँ नया सवारी प्रदर्शनमा राखिएको र जुन उद्देश्य प्राप्तिका लागि एक्स्पो आयोजना गरिएको छ त्यसका लागि शुभकामना समेत दिए ।
अर्थमन्त्रीले सरकारले गुणस्तरीय सडक पूर्वाधार विकासका लागि काम गरिरहेको समेत बताए । ‘भएका राजमार्गको कामलाई तिव्रता दिन सरकार लागेको छ । यसले गुणस्तरमा प्रभाव पार्ने विश्वास लिएका छौं,’ उनले भने ।
सरकार धुलो र हिलो रहित सडक विकासमा लागेको र चालू आर्थिक वर्षको बजेटमा समेत सडक पूर्वाधारको विकासका लागि बजेट विनियोजना गरिएको उनले बताए ।