काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मन्त्रालयले डिजिटल ट्रान्सफर म्यानेजमेन्ट सिस्टम लागू गर्न लागेको हो।
नयाँ प्रणाली लागू भएपछि कर्मचारीले सरुवाका लागि आवेदनदेखि निर्णय प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत नै सम्पन्न गर्न सक्नेछन्। मन्त्रालयका अनुसार सरुवा प्रणाली कर्मचारीको डिजिटल प्रोफाइल मा आधारित हुनेछ, जसमा व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित सरकारी प्रणालीसँग प्रत्यक्ष वा Application Programming Interface (API) मार्फत जोडिने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुनेछ।
सरुवा प्रक्रियामा निष्पक्षता र प्रभावकारिता बढाउन प्रणालीमा फ्ल्यागिङ मेकानिज्म समेत राखिएको छ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनलाई स्वतः पहिचान गरी निर्णय प्रक्रियालाई सहज बनाउने मन्त्रालयको विश्वास छ।
त्यसैगरी, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ सिस्टम मार्फत जुनसुकै समय अनलाइनबाट हेर्न सक्नेछन्। यसले आवेदनको अवस्थाबारे अनावश्यक दौडधुप र अन्योल हट्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी आदेश तथा पत्रहरू पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सरकारी निकायका सूचना प्रणालीसँग API मार्फत तथ्यांक आदान–प्रदान गर्ने सुविधा रहनेछ। साथै, सरुवासम्बन्धी निर्णय र विवरण मन्त्रालयको वेबसाइटमा निर्णय भएको २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था समेत गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावल ले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र आधुनिक बनाउने सरकारी नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको बताइन्। उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ, अनावश्यक कागजी झन्झट र अपारदर्शितामा कमी आउनेछ भने कर्मचारीले छिटो, सहज र विश्वासयोग्य सेवा प्राप्त गर्नेछन्।

