काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्रीमार्फत ७२ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो रकम ६७ करोड ५० लाख रहेको थियो । कम्पनीको प्रशासनिक खर्च १ करोड ६१ लाख, कर्मचारी खर्च १ करोड ७१ लाख र वित्त खर्च २८ करोड ३८ लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ दीर्घकालिन कर्जा र १७ करोड ८९ लाख रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति २० करोड ३१ लाख र कुल चालु दायित्व २१ करोड १९ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.३९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०२.७४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.५० गुणा र तरलता अनुपात ०.९६ प्रतिशत कायम छ ।