काठममाण्डौ । युनिलिभर नेपालले आज लाखौं फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (इपीएल) सामु नजिक ल्याउने सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब भएको कम्पनीले जनाएको छ ।
युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ। साथै, यसले युएफा युरोपियन च्याम्पियनशिप २०२४ र आउँदो युएफा युरोपियन वुमन्स च्याम्पियनशिप २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ ।
यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ। फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको कम्पनीले जनाएको छ । इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकहरूले पनि ईपीएलका म्याचहरु कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा हेर्न सक्नेछन् ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जी भन्छन्, ‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ । कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं। यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं।’
यस्तै कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वर भन्छन् ‘युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो ।’