काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि युएई राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बिच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा मन्त्री यादवले प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने दोहोरो प्रावधान हटाइ श्रमिकको सहजताका लागि अनुरोध गरेका छन् ।
नेपाल र युएई बिच भएको द्विपक्षीय सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयनका लागि लागत न्यूनीकरण, सिप साझेदारी र श्रमिकको स्वास्थ्य लगायतका प्रावधानहरू कार्यान्वयन गर्न सहमति भएको छ ।
युएई राजदूत शामसीले ईद उल अजहाको अवसरमा १११ जना कैदिबन्दिलाई आममाफी दिएको जानकारी दिएका छन् ।
उक्त विषयमा मन्त्री यादवले कृतज्ञता व्यक्त गरे । राजदूत शामसीले द्विपक्षीय सरोकारका अन्य विषयमा युएई सरकारसँग समन्वयपश्चात् जानकारी दिने समेत बताएका छन् ।

