काठमाण्डौ। हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्ज घटाउँदै नयाँ भाडादर बुधबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेपछि त्यसको प्रभाव यात्रु भाडामा परेको हो। प्राधिकरणले इन्धन सरचार्ज पुनः निर्धारण गर्दै नयाँ भाडादर तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर २२९ रुपैयाँ कायम भएको छ। यही घटेको मूल्यका आधारमा प्राधिकरणले इन्धन सरचार्ज समायोजन गरेको हो।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्ज आजैदेखि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। नयाँ व्यवस्था कार्यान्वयन नगर्ने वा तोकिएकोभन्दा फरक भाडा असुल्ने वायुसेवा कम्पनीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने उनले चेतावनी दिए।
नयाँ व्यवस्थाअनुसार सुगम र दुर्गम दुवै क्षेत्रका आन्तरिक उडानमा इन्धन सरचार्ज घटेकाले यात्रुले तिर्नुपर्ने हवाई भाडामा पनि कमी आएको छ। प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई संशोधित भाडादर तत्काल लागू गरी यात्रुलाई सोहीअनुसार सेवा दिन निर्देशन दिएको छ।

