काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ(फेड)का गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिएका हुन् । सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाईडेनले लिसा कुकलाई फेडको गभर्नर नियुक्त गरेका थिए ।
ट्रम्पले लेखेका छन्, ‘लिसा कुकलाई तत्काल प्रभावबाट फेडरल रिजर्भको बोर्ड अफ गभर्नरबाट हटाइएको छ।’ यो कदमले अमेरिकी केन्द्रीय बैंक अर्थात् फेडरल रिजर्भको स्वतन्त्रतालाई लिएर नयाँ विवाद खडा गरेको छ । यो मुद्दा सुप्रिम कोर्टसम्म पुग्ने विश्वास गरिएको छ ।
हालै मात्रै उनीमाथि धितो ठगीको आरोप लागेको थियो । ट्रम्पका कट्टर समर्थक र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको आलोचक मानिने फेडरल हाउसिङ फाइनान्स एजेन्सी (एफएचएफए)का निर्देशक बिल पुल्टले यी आरोप लगाएका थिए।
कुकले भने आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् । उनले कसैको दबाबमा आएर राजीनामा नदिने र सही जानकारी जुटाएर यससम्बन्धी जवाफ दिने बताएकी थिइन् । तर, ट्रम्प प्रशासनले उनीको जवाफको प्रतीक्षा भने गरेन र पदबाट हटाएको छ ।
लिसा कुक मे २०२२ मा फेडरल रिजर्भको बोर्डमा सामेल भएकी थिइन् र बोर्डको पहिलो अश्वेत महिला गभर्नर बनेकी थिइन् । यसअघि उनले पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनमा आर्थिक सल्लाहकार परिषद्मा काम गरेकी थिइन् ।