काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले असोज १० गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दिउँसो ३ बजेदेखि सुरु हुने उक्त सभा काठमाण्डौको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा आयोजना हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई १ः२.६२३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सिद्धार्थ केवलकारसँग भएको सम्झौता कार्यान्वयन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनी ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारीमा रहेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटललाई निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।
प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो ।