काठमाण्डौ । नेपालमा सोमबार, ८ सेप्टेम्बर २०२५ मा जेनजी समूहले सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। प्रमुख सञ्चार माध्यमहरूले घटनाको व्यापकता, हिंसात्मक स्वरूप र राजनीतिक पृष्ठभूमि समेटेर समाचार प्रकाशित गरेका छन्।
अमेरिकी प्रेस एजेन्सी (AP) का अनुसार काठमाडौँमा प्रदर्शनकारीहरूले संसद भवनमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीद्वारा गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको र १४५ जना घाइते भएका छन्। प्रदर्शनको मुख्य कारण सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोध रहेको बताइएको छ।
इकोनोमिक टाइम्स ले उल्लेख गरेको छ कि प्रहरीद्वारा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका थिए। समाचारमा भनिएको छ, “सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका विरोधमा युवा–जनताको आक्रोश प्रदर्शनमा पर्यो।”
द सन का अनुसार प्रदर्शनकारीहरूले “सामाजिक सञ्जालको प्रतिबन्ध हटाओ, भ्रष्टाचार हटाओ” जस्ता नारा लगाएका थिए। प्रहरीले अश्रुग्यास, पानीको तोप र रबरको गोली प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न खोजेको उल्लेख गरिएको छ।
टाइम्स अफ इन्डिया र रोयटर्स अनुसार प्रहरीले संसद भवनमा प्रवेश गर्ने प्रयासरत प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रतिबन्ध हटाउने र सरकारी भ्रष्टाचारको अन्त्य गर्नुपर्ने थियो।
अल जजिरा ले पनि सो घटनालाई प्रमुख समाचारको रूपमा प्रकाशित गर्दै, जेनजी समूहका युवाहरूले लोकतान्त्रिक अभिव्यक्ति अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सडकमा उत्रेको र प्रदर्शन हिंसात्मक बनेको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रदर्शनमा मृतकको संख्या, घाइतेको अवस्था, प्रदर्शनको कारण र सरकारको प्रतिक्रिया सबै पक्ष समेटेर विश्लेषण गरेका छन्। यस घटनाले नेपालमा राजनीतिक तनाव बढाएको र सरकार तथा युवाबीचको दूरी बढाएको देखिएको छ।