काठमाण्डौ । मंगलबार साँझ एक भिडियो सम्बोधनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालको आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न वार्ताको बाटो अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्।
उनले राष्ट्रको सर्वोच्च हितको संरक्षण र वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।
हालैका आन्दोलनहरूमा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै उनले मृतकहरूको आत्माको शान्तिको कामना गरे र शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै उनले शान्ति, सुरक्षा र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको उल्लेख गरे।
प्रधानसेनापति सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको सुरक्षाका लागि नेपाली सेना सधैं प्रतिबद्ध रहेको कुरा दोहोर्याए। उनले आन्दोलनका कारण राष्ट्रिय सम्पदा, सार्वजनिक सम्पत्ति, सर्वसाधारण, मित्रराष्ट्रका कूटनीतिक नियोग र अन्य सरोकारवालाहरूको सुरक्षामा कुनै प्रतिकूल असर नपर्ने कुरामा जोड दिए।
राष्ट्रिय एकता र सद्भावका लागि सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै उनले मातृभूमिको जयगान गरे।