काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा मच्चिएको विध्वंशका कारण नेपालको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा ठूलो झट्का नेपाल पुनर्बिमा कम्पनी(नेपाल रि)लाई लागेको छ ।
आन्दोलन र विध्वंशका कारण क्षति भएका सम्पत्तिहरुको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म २२ अर्बभन्दा बढीको दाबी परिसकेको छ । यति ठूलो दाबीभुक्तानीमध्ये सम्बन्धित निर्जीवन बीमा कम्पनीहरुको भागमा ३५ प्रतिशत मात्र पर्छ भने बाँकी ६५ प्रतिशत नेपाल रिले व्यहोर्नुपर्ने हुन्छ ।
एकैपटक आएको निकै ठूलो दाबी भुक्तानी कसरी सेटल गर्ने र ठूलो दायीत्वको व्यवस्थापन कसरी गर्ने भन्ने अनपेक्षित तनावमा यो कम्पनीको उच्च व्यवस्थापन रहेको छ । यही तनावका कारण नेपाल रिका उच्चपदस्थ अधिकारीहरु हिजोआज कार्यालय गएका छैनन् । आफूलाई सरकार र अरु सरोकारवालाबाट सहयोग नहुने हो भने सामूहिहक राजीनामासम्म गर्ने मूडमा यो कम्पनीका उच्च अधिकारी रहेका छन् ।
यसरी कम्पनी हाँकिरहेकाहरु नै अनपेक्षित दायीत्वका कारण तनावमा रहेको समयमा सेयर बजारका खेलाडीहरु भने त्यही कम्पनीको मूल्य बढाउने चलखेलमा लागेका छन् ।
बीमा कम्पनीमा परेको दाबीको भुक्तानीमा नियमअनुसार नै भयो भने पनि नेपाल रि केही वर्ष थला पर्ने अवस्था छ । यो कम्पनीको वित्तीय सन्तुलन भताभुंग हुने अवस्थामा पुगेको छ भने प्रमुख सूचकहरुमा एकैपटकको ठूलो दायीत्व भुक्तान गर्दा नेगेटिभ परिदृश्य आउनसक्ने सम्भावना स्पष्टै देखिन्छ । नाफा बढ्ने वा त्यसका आधारमा लगानीकर्तालाई यो कम्पनीले लाभांश वा रिटर्न देला भनेर त अहिले कल्पना पनि गर्न सकिन्न ।
तर, सेयर बजारका खेलाडीलाई के चाहियो र ? चलखेलका लागि माहिर नेपाली सेयर बजारका खेलाडीहरुले आन्दोलनअघि आफूले किनेर थुपारेको नेपाल रिको सेयर सोझालाई भिडाउने उद्देश्यले वित्तीय अवस्थामा आउनसक्ने सम्भावित भूकम्पलाई बेवास्ता गरी मूल्य बढाउनतर्फ लागेका छन् । जसका कारण नेपाल रिको सेयरमूल्य मंगलबार पनि ३.२२ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५१८ रुपैयाँको उचाईमा पुगेको छ ।
कति आउनसक्छ दायीत्व ?
विभिन्न निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म हुलदंगाका क्रममा भएको क्षतिबापत २२ अर्ब बढी बीमा दाबीका लागि आवेदन परेको छ । सरसर्ती हिसाब गर्दा पनि २२ अर्ब बढीको बीमा दाबीमध्ये ६५ प्रतिशत नेपाल रिले व्यहोर्नुपर्ने हुन्छ । यो भनेको १५ अर्ब नजिक हुन आउँछ । नेपाल रि ले आफ्नो दायीत्व विदेशको कम्पनीसँग पनि सेयर गरेको छ । जसअनुसार रेक्टो ट्रिटी ह्यानओभर रि(hannover re)ले करिब ५ अर्ब व्यहोर्नेछ । बाँकी १० अर्ब नेपाल रिले तिर्नुपर्ने प्रष्ट देखिन्छ ।
एकैपटक १० अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी गर्नुपर्दा नेपाल रिको अहिलेको वित्तीय स्वास्थ्यमा गम्भीर समस्या आइपर्नसक्छ।
किनभने यो कम्पनीको कुल सम्पत्ति नै ३४ अर्ब हाराहारी छ । त्यसमध्ये पनि अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको कुल दायीत्व नै १४ अर्ब ६२ करोड बढी रहेको देखिन्छ ।
कुल १३ अर्ब ४२ करोड चुक्तापूँजी रहेको यो कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ६७ करोड रुपैयाँ मात्र छ । विपत्तिका लागि छुट्याइएको रिजर्भमा त जम्माजम्मी ३८ करोड पनि छैन ।
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासकै वित्तीय विवरणलाई हेर्ने हो भने पनि यो कम्पनीले सो बेलासम्म ५५ करोड रुपैयाँ हाराहारीमा मात्र नाफा आर्जन गरेको छ । प्रतिसेयर आम्दानी रु. ५.४५ मात्र छ ।
कम्पनीले सो अवधिसम्म २२ अर्ब २८ करोड बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीको मुख्य आम्दानीमध्येको एउटा स्रोत बैंकको ब्याजदर समेत घटेर न्यून स्तरमा झरिसकेको छ । यसले एकातिर आम्दानी घटाउने निश्चित छ भने यसै पनि कमजोर अवस्थामा रहेको कम्पनीको टाउकोमा १० अर्बको दायीत्व थपिएपछिको अवस्था निकै भयावह हुनसक्ने देखिन्छ ।
कम्पनीका एक उच्च अधिकारी भन्छन् -'कम्पनी निकै ठूलो संकटमा फसेको छ । १० अर्ब नै दाबी भुक्तानी गर्नुपर्यो भने केही वर्षसम्म यो कम्पनी घिस्रिदै सञ्चालन हुनुपर्ने अवस्था आउँछ । ३–४ बर्ष लगानीकर्ताले रिटर्नको आशा गर्नु पनि बेकार हुनेछ । सबै पक्षको सहयोग नहुने हो भने कम्पनी यहीकारण टाट पल्टिने डरलाग्दो संकटमा फसेको छ ।’