काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । युक्रेनले रुसी उर्जा पूर्वाधारमा आक्रमण गरेसँगै आपूर्तिमा अवरोध आउने आँकलनसँगै लगानीकर्ताले प्रफिट बुक गर्दा तेलको मूल्य घटेको हो ।
आज डब्लूटीआई क्रुडको मूल्य ०.४३ प्रतिशत अर्थात ०.२८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६४.७१ डलरमा कारोबार भईरहेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.३८ प्रतिशत अर्थात ०.२६ डलरले ओरालो लाग्दै प्रतिब्यारेल ६९.०५ डलरमा सीमित बनेको छ । अघिल्लो सेसनमा यी दुवै बेन्चमार्क २.५ प्रतिशतले बढेका थिए ।
विगत केही सातादेखि युक्रेनले रुसका रिफाइनरी र निर्यात केन्द्रहरुलाई लक्षित गरी ड्रोन आक्रमण जारी राखेको छ । यसले रुसबाट हुने कच्चा तेलको आपूर्तिमा समस्या उत्पन्न हुने चिन्ता बढेको छ ।