काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामै ८ अर्ब भन्दा बढी प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
निर्जीवन बीमकहरुको यो बीमाशुल्क आर्जन रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।९२ प्रतिशत बढी हो । गत आवको भदौ महिनासम्म बीमकहरुले ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
सो अवधिसम्म आधा कम्पनीको व्यवसाय गत आवको तुलनामा बढेको छ भने आधा कम्पनीको व्यवसाय घट्न पुगेको छ । भदौ महिनासम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले ८४ करोड ८२ लाख, सिद्धार्थ प्रिमियरले ७७ करोड ३३ लाख, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख, एनएलजीले ६८ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, दि ओरियन्टलले ५९ करोड ५० लाख, नेकोले ५८ करोड ५० लाख, युनाइटेड अजोडले ५७ करोड ४८ लाख, सानिमा जिआइसीले ४९ करोड ३८ लाख, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनलले ३५ करोड २ लाख, प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।