काठमाण्डौ । प्रभू बैंकका उच्चपदस्थहरु संलग्न रहेको निकै ठूलो घोटालाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र नेपाल बैंकर्स संघका अधिकारीहरुबीच आज भेटघाट र छलफल भएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था एनबिएको एक समूह र सीआईबीका उच्च अधिकारीहरुबीच आज प्रभू बैंकको घोटाला प्रकरणको विषयमा गहन छलफल भएको बुझिएको हो ।
एनबीएबाट अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, सीईओ अनिल शर्मा लगायतका प्रतिनिधि सीआईबी कार्यालय पुगेका थिए । उनीहरुले सो क्रममा सीआईबीका उच्चपदस्थलाई भेटेर प्रभू बैंकका सीईओ अशोक शेरचन, डिसीईओ मणिराम पोखरेल लगायत पक्राउ परेको प्रकरण तथा रश्मी पन्त लगायत दुई उच्च पदस्थ कर्मचारी फरार रहेको विषयमा छलफल गरेका थिए ।
सो क्रममा एनबिएका अध्यक्ष तथा अन्य प्रतिनिधिले बैंकरहरुलाई यसरी थुन्न नहुने र हिरासतभन्दा बाहिरै रहेर अनुसन्धानमा सहयोग गर्ने गरी सीआईबीले वातावरण बनाइदिन आग्रह गरेका थिए । 'अशोक जीहरुले बाहिरै बसेर अनुसन्धानलाई सहयोग गर्नुहुन्छ । यसरी थुन्नुभएन । बरु आवश्यक परेको बेलामा उपलब्ध गराउने हामी ग्यारेण्टी गर्छौ ।' सीआईबीलाई एनबीएबाट गरिएको आग्रहलाई उद्धृत गर्दै विश्वस्त समाचार स्रोतले भन्यो- 'राष्ट्रबैंक पनि यही चाहन्छ । हामी पनि यही चाहन्छौं । बैंकिङ सम्वेदनशील क्षेत्र हो, यसको सम्वेदनशीलतालाई यहाँहरुले पनि बुझिदिनुहुन्छ भन्ने आशा छ।'
बैंकर्स संघका प्रतिनिधिका कुरा सुनिसकेपछि सीआईबीका उच्चपदस्थ अधिकारीहरुले आफूहरुलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न र काम गर्न दिन आग्रह गरेका थिए । 'बरु यो प्रकरणलाई छिटो निश्कर्षमा पुर्याउनका लागि तपाईहरुबाट समेत सहयोगको अपेक्षा गरेका छौं ।' सीआईबीका अधिकारीहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो- 'हामीले यो प्रकरणको अनुसन्धान अगाडि बढाउने क्रममा केन्द्रीय बैंकसँग पनि प्रशस्तै छलफल र सल्लाह गरेका छौं । यो अनुसन्धानमा कतिप िप्राविधिक सहयोग राष्ट्रबैंकबाटै भएको छ ।'
छलफलका क्रममा सीआईबीका अधिकारीहरुले प्रभू म्यानेजेमन्टसँग जोडिएको घोटाला प्रकरण निकै ठूलो तथा पुरानो रहेको र थप गम्भीर प्रकृतिका बैंकिङ कसूर देखिने फाइल तथा प्रमाणहरु समेत आउने क्रम रहेकोले हिरासतमुक्त गरी अनुसन्धान गर्नै नमिल्ने प्रष्ट पारेका थिए । 'यो केश निकै ठूलो रहेछ । केही पुराना केशका फाइल समेत आएका छन् । सबैलाई मिलाएर हेर्दा निकै नै गम्भीर प्रकारको कसूरमा उहाँहरुको संलग्नता देखिन्छ । यसलाई हलुका रुपमा लिएर हिरासतमुक्त गरिहाल्न मिल्दैन ।' प्रहरी अधिकारीहरुले भनेका थिएः 'उहाँहरु पावर भएका मान्छेहरु हुनुहुन्छ । छाडियो भने थप प्रमाण नष्ट हुनसक्छन् । यो सम्वेदनशीलतालाई यहाँहरुले बुझिदिनुपर्छ ।'
प्रहरी अधिकारीहरुले बैंकिंग स्रोत र साधनको चरम दुरुपयोग गरेको विषय अनुसन्धान हुँदैमा प्रणालीमा कुनै पनि सिस्टेमिक रिस्क नआउने, बरु यसले समग्र प्रणालीलाई नै थप मजबुत, पारदर्शी बनाउने जिकिर गरेका थिए ।
सीआईबीको कुरा सुनेपछि एनबीएका अधिकारीहरुले प्रहरीले गरिरहेको अनुसन्धानमा बाधा गर्ने आफूहरुको कुनै मनशाय नरहेको प्रष्टीकरण दिएका थिए । सीआईबीको अडान र केही गम्भीर खालको कुरा सुनेपछि एनबीएबाट गएको समूह निराश भएर फर्किएको छलफलमा सहभागी एक सदस्यले बिजशालालाई जानकारी दिए ।
'राष्ट्रबैंकले पनि यो विषयमा गम्भीर ढंगले आपत्ति जनाएको देखिएन । सीआईबीको अनुसन्धानलाई सहयोग नै गर्नुपर्ने विषयमा उहाँहरु स्पष्ट देखिनुहुन्छ । सीआईबीले पनि पटक-पटक आफूहरुले गरिरहेको अनुसन्धानको विषयमा केन्द्रीय बैंक जानकार रहेको प्रष्ट पारेको थियो ।' स्रोतले भन्यो- 'बैंकिङ कसूर मात्र नभई फौजदारी लगायतको अभियोग समेत देखिएकोले प्रभूका उच्चपदस्थ पक्राउ प्रकरणमा हामीले खुलेर केही नबोल्ने हो कि भन्नेसम्मको कुरा आएको छ । सही ढंगले अनुसन्धान भइरहेको हो र त्यसमा आग्रह पूर्वाग्रह छैन भने सीआईबीलाई सहयोग नै गर्नुपर्छ भन्ने मतमा एनबीएभित्र सर्वसम्मतजस्तै छ । जारी अनुसन्धानको विषयमा खुलेर बोलिहाल्ने अवस्थामा हामी छैनौं ।'
सीआईबीसँग छलफल गरेपछि अहिले एनबीएका अध्यक्ष सन्तोष कोइराला राष्ट्रबैंक पुगेर छलफल गरिरहेका छन् ।
*यसअघिको समाचारमा प्रभू बैंकका सीईओ अशोक शेरचन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।
-सम्पादक

