काठमाण्डौ । अमेरिका र ईरानबीच जारी सैन्य संघर्षले अमेरिकी अर्थतन्त्रमा ठूलो आर्थिक दबाब सिर्जना गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार युद्ध सुरु भएको छ दिनमै पेन्टागनले सांसदहरूलाई दिएको जानकारीअनुसार कुल खर्च ११.३ अर्ब अमेरिकी डलर नाघिसकेको थियो।
रिपोर्टहरूका अनुसार उक्त युद्धमा सयौं टमाहक मिसाइल प्रयोग गरिएको छ, जसको प्रति मिसाइल लागत करिब ३.५ मिलियन अमेरिकी डलरबराबर पर्छ।
युद्ध लम्बिँदै जाँदा दैनिक खर्चमा उतारचढाव देखिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ईरानको कमजोर हुँदै गएको रक्षा प्रणालीका कारण केही हदसम्म खर्च घटेको दाबी गरिएको छ। तथापि, रक्षा विश्लेषकहरूले हाल पनि यो युद्धमा दैनिक करिब ३८५ मिलियन अमेरिकी डलर खर्च भइरहेको अनुमान गरेका छन्।
अमेरिकी रक्षा विभागले ईरानी ड्रोन तथा मिसाइल आक्रमणहरूमा करिब ९० प्रतिशतले कमी आएको जनाएको छ, जसलाई युद्धको रणनीतिक प्रगतिका रूपमा हेरिएको छ।
विशेषज्ञहरूले भने युद्ध लम्बिँदै जाँदा आर्थिक, सैन्य र कूटनीतिक असर अझ गहिरिँदै जाने चेतावनी दिएका छन्।

