काठमाण्डौ । काठमाडौं । अटोमोबाइल क्षेत्रलाई स्थिर, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउन Nepal Automobile Importers and Manufacturers Association(नाइमा) ले सरकारसमक्ष व्यापक नीतिगत सुधारका प्रस्तावहरू पेश गरेको छ।
अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्रलाई विलासिताका रूपमा नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्ने धारणा राखेको हो।
भेटका क्रममा नाइमाले सवारी साधनमा लाग्ने कर संरचनालाई सरल, सन्तुलित र व्यवहारिक बनाउँदै समग्र कर भार घटाउनुपर्नेमा जोड दिएको छ। साथै, सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्थालाई कायम राखेर सर्वसाधारणको पहुँच सहज बनाउनुपर्ने माग गरिएको छ।
नाइमाले भन्सार जाँचपास सम्पन्न भइसकेपछि पनि फरक–फरक व्याख्याका आधारमा बेरुजु उठाइने प्रवृत्तिले व्यवसायिक अनिश्चितता बढाएको उल्लेख गर्दै स्पष्ट, एकरूप र पारदर्शी प्रणाली आवश्यक रहेको बताएको छ। यसका साथै भन्सार प्रक्रिया सहजीकरण, डिजिटल प्रणालीको एकीकरण, परीक्षण पूर्वाधारको विकास तथा यातायात ऐनको पुनरावलोकन गर्नुपर्ने सुझाव पनि दिएको छ।
संस्थाले विद्युतीय सवारी साधनका लागि स्थिर र प्रोत्साहनमुखी नीतिगत व्यवस्था आवश्यक रहेको औंल्याउँदै हाइब्रिड सवारी साधनलाई प्रविधिगत विशेषताअनुसार उचित वर्गीकरण गरी सन्तुलित र न्यायोचित नीति अपनाउनुपर्नेमा जोड दिएको छ। ‘मेक इन नेपाल’ अभियानअन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन, सडक सुरक्षा र प्रदूषण नियन्त्रणमा समेत ध्यान दिनुपर्ने विषय नाइमाले उठाएको छ।
अर्थमन्त्री वाग्लेले नाइमाले प्रस्तुत गरेका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा लिइएको उल्लेख गरेका छन्। उनले कर प्रणालीलाई थप सन्तुलित र व्यवहारिक बनाउने दिशामा सरकार अघि बढिरहेको जानकारी दिँदै प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग पनि भेट गरी अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ। मन्त्रीले अटोमोबाइल क्षेत्रले राष्ट्रिय राजस्व, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस क्षेत्रबाट उठेको करको निश्चित अंश पुनः सोही क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था अघि बढाउने संकेत दिएका छन्।
नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको छाता संस्था हो, जसले नीति सुधार, उद्योग प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

