सोमबार, श्रावण ११,२०८३ 03:01:35
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 03:01:35
Bizshala
Global IME Bank Limited

बिक्रीमा दोहोरो अंकको वृद्धि भएसँगै युक्रेनमा नेस्लेले ठूलो लगानी गर्ने

बिक्रीमा दोहोरो अंकको वृद्धि भएसँगै युक्रेनमा नेस्लेले ठूलो लगानी गर्ने
New Office

काठमाण्डौ । बहुराष्ट्रिय खाद्य तथा पेय पदार्थ कम्पनी नेस्लेले सन् २०२६ भित्र युक्रेनमा करिब १० अर्ब युक्रेनी ह्रिभ्निया लगानी गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा युक्रेनी बजारमा आफ्नो बिक्री मूल्यका आधारमा १९.३ प्रतिशत तथा परिमाणका आधारमा १० प्रतिशत वृद्धि गरेको जनाएको छ।

युक्रेन तथा मोल्डोभाका लागि नेस्लेका प्रमुख सीईओ रोमन यानोभिचका अनुसार, सोही अवधिमा नेस्ले समूहको विश्वव्यापी बिक्री ३.६ प्रतिशत बढ्दा युक्रेनस्थित व्यवसायले त्यसभन्दा उल्लेखनीय रूपमा राम्रो प्रदर्शन गरेको हो।

कम्पनीले सन् २०२६ को पहिलो छामाहीमा मात्रै युक्रेनमा ५ अर्ब ह्रिभ्निया लगानी गरेको छ। यसमध्ये २० करोड ह्रिभ्निया कारखाना विस्तार तथा आधुनिकीकरणमा खर्च गरिएको छ भने ४.८ अर्ब ह्रिभ्निया विभिन्न उत्पादन श्रेणीको विकासमा लगानी गरिएको कम्पनीले जनाएको छ। वर्षको अन्त्यसम्म कारखाना विकासमा मात्रै १ अर्ब ह्रिभ्निया लगानी गर्ने लक्ष्य रहेको छ।

पहिलो ६ महिनामा कम्पनीले युक्रेनमा ५६ हजार मेट्रिक टन उत्पादन बिक्री गरेको जनाएको छ। यस अवधिमा चकलेट तथा कन्फेक्सनरी उत्पादनको बिक्री मूल्यका आधारमा १८ प्रतिशत र परिमाणका आधारमा ६ प्रतिशत वृद्धि भएको छ। त्यस्तै, तयार खाद्य पदार्थमा १२ प्रतिशत र २ प्रतिशत, इन्स्ट्यान्ट कफीमा १६ प्रतिशत र ४ प्रतिशत, इन्फ्यान्ट फर्मुलामा २० प्रतिशत र ७ प्रतिशत, अन्य बाल खाद्यमा २० प्रतिशत र १० प्रतिशत, तथा पाल्तु जनावरको आहारमा २० प्रतिशत र १० प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।

कफी क्याप्सुल बजार सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको कम्पनीको भनाइ छ। यस श्रेणीमा बिक्री मूल्यका आधारमा ३० प्रतिशत तथा परिमाणका आधारमा १६ प्रतिशत वृद्धि भएको छ।

यानोभिचका अनुसार, नेस्लेले ‘टोरचिन’ ब्रान्डमार्फत युक्रेनको केचअप बजारको करिब आधा हिस्सा तथा सस बजारको झण्डै एकतिहाइ हिस्सा ओगटेको छ। त्यस्तै ‘नेस्क्विक’ ब्रान्डले कोको उत्पादनको करिब आधा बजार हिस्सा कायम गरेको छ।

कम्पनीले यस वर्ष १०० भन्दा बढी उत्पादन समेटिएको आफ्नो कुलिनरी उत्पादन शृंखलालाई करिब २० प्रतिशत विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी एसियाली उत्पादन शृंखला २०–२५ प्रतिशत दरले बढिरहेको छ भने कपमा उपलब्ध इन्स्ट्यान्ट चाउचाउ ९नुडल्स० को बिक्रीमा तीन अंकको वृद्धि देखिएको कम्पनीले जनाएको छ।

यद्यपि, रसियाली आक्रमणका कारण गोदामहरूमा क्षति पुगेपछि आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ। सम्भावित अवरोधलाई ध्यानमा राख्दै वितरण केन्द्र प्रयोग नगरी सिधै सुपरमार्केट चेनमा सामान आपूर्ति गर्ने वैकल्पिक योजना तयार पारिएको सीईओ यानोभिचले जानकारी दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.