मंगलवार, श्रावण ५,२०८३ 10:57:25
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:57:25
Bizshala
Global IME Bank Limited

इन्धन महँगिँदा इभीतर्फ मोडिए ग्राहक, बिक्रीमा ६० प्रतिशतसम्मको उछाल

हरेक १० मध्ये ७-८ ग्राहकको रोजाइमा विद्युतीय गाडी, बढ्दो मागले डिपालको स्टकसमेत रित्तियो

इन्धन महँगिँदा इभीतर्फ मोडिए ग्राहक, बिक्रीमा ६० प्रतिशतसम्मको उछाल
New Office

-रविन ठकुरी

 

काठमाण्डौ । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले नेपाली अटोमोबाइल बजारको दिशा बदल्न थालेको छ। पेट्रोल–डिजेल गाडी सञ्चालनको खर्च बढेपछि पुराना प्रयोगकर्ता विद्युतीय सवारीसाधन (इभी) तर्फ मोडिएका छन् भने नयाँ ग्राहकको पहिलो रोजाइसमेत इभी बन्न थालेको छ।

अटो व्यवसायीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष इभीको कारोबार ५० देखि ६० प्रतिशतसम्म बढेको छ। कम सञ्चालन खर्च, सस्तो सडक कर, चार्जिङ पूर्वाधारको विस्तार र इन्धन आयातमा निर्भर हुनुनपर्ने सुविधाले इभीप्रतिको आकर्षण तीव्र बनाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुका साथै मध्यपूर्वको तनाव र विश्व भू–राजनीतिक अस्थिरताले नेपालको आपूर्ति प्रणालीमा समेत दबाब सिर्जना गरेको छ। महँगीका कारण अधिकांश वस्तुको कारोबार सुस्ताइरहेका बेला इभी बजार भने अपवाद बनेर उकालो लागेको देखिन्छ।

एमजीको बुकिङमा उत्साह

काठमाण्डौको नक्सालस्थित एमजी सोरुमका सेल्स अफिसर मनोज थापा इन्धनको मूल्यवृद्धिसँगै ग्राहकको रोजाइ तीव्र रूपमा इभीतर्फ सरेको बताउँछन्।

‘सन् २०२५ मा इभीको कारोबार करिब ३० प्रतिशतमा सीमित थियो। सन् २०२६ मा यो बढेर ५० देखि ६० प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थ महँगिएपछि पेट्रोल–डिजेल गाडीका प्रयोगकर्ता इभीतर्फ मोडिएका छन्। नयाँ ग्राहकको आकर्षण पनि इभीमै बढी देखिन्छ।’

उनका अनुसार एमजीले मार्चमा २१, अप्रिलमा ५५, मेमा २१ र जुनमा ५० वटा गाडी बुकिङ गरेको छ। मलमासका कारण मे महिनामा बुकिङ घटे पनि त्यसपछि बजार पुनः लयमा फर्किएको उनले बताए।

एमजीले डेढ महिनामै ‘एस सिक्स’ मोडलका ११० वटा इभी बिक्री गरेको जनाएको छ। हालसम्म नेपालभर एमजी जेटएस इभी मात्रै चार हजारदेखि चार हजार पाँच सय वटासम्म बिक्री भइसकेका छन्। एमजी एस फाइभ कम्पनीको सर्वाधिक बिक्री हुने मोडल बनेको छ भने आईएम सिक्स र एमजी फोरको बिक्री पनि उत्साहजनक रहेको थापाको भनाइ छ।

‘चार्जिङ स्टेसन विस्तार भइरहेका छन्। सडक कर तुलनात्मक रूपमा सस्तो छ र सरकारी प्राथमिकता पनि इभीमै देखिन्छ,’ उनले भने, ‘मूल्य र सञ्चालन खर्च दुवैका हिसाबले आकर्षक भएकाले ग्राहक बढिरहेका छन्।’

हरेक १० मध्ये ७-८ ग्राहक इभीतर्फ

बजारमा इभीको प्रभुत्व कतिसम्म बढेको छ भन्ने संकेत नक्सालस्थित बीवाईडी सोरुममा आउने ग्राहकको रोजाइले पनि गर्छ। सोरुमका सिनियर अफिसर नवीन थापाका अनुसार अहिले करिब ७३ प्रतिशत ग्राहक इभीतर्फ रूपान्तरण भइसकेका छन्।

‘हरेक १० मध्ये सातदेखि आठ जनाले इभी रोजिरहेका छन्,’ उनले भने, ‘ग्राहकको धारणा सकारात्मक छ। साउनदेखि गाडीको व्यापार बढ्ने भएकाले नाइमा नेपाल मोबिलिटी एक्स्पोले बजारलाई थप गति दिने अपेक्षा गरेका छौँ।’

साउन २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ ले दशैं–तिहारअघिको सवारी बजारलाई चलायमान बनाउने व्यवसायीको अपेक्षा छ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालि हो। चिनियाँ मुद्रा तथा विनिमय दरमा आएको वृद्धिले आयात लागत बढे पनि बीवाईडीको बिक्री प्रभावित नभएको कम्पनीका प्रतिनिधि बताउँछन्।

बीवाईडीका एट्टो–वान, एट्टो–टु र एट्टो–थ्रीजस्ता तुलनात्मक रूपमा सस्ता मोडल बढी बिक्री भइरहेका छन्। इन्धन खर्चको बचत र सुधारिँदो पुनर्बिक्री मूल्यले ग्राहकलाई इभीतर्फ आकर्षित गरेको कम्पनीको बुझाइ छ।

माग धान्न नसक्दा डिपालको स्टक रित्तियो

इभीको बढ्दो मागका कारण केही कम्पनीलाई स्टक व्यवस्थापनमै चुनौती देखिन थालेको छ। नक्सालस्थित डिपाल सोरुमका सिनियर सेल्स अफिसर मनिष खड्काका अनुसार बिक्रीको चाप बढेपछि डिपालका केही मोडल तत्काल उपलब्ध छैनन्।

‘गत जेठमा दैनिक औसत तीन र असारमा चारवटा गाडी बिक्री भए,’ उनले भने, ‘माग बढेपछि अहिले हामीसँग डिपाल इभीको स्टक छैन। एस०७ मोडल पाँच महिनादेखि नै स्टकमा छैन।’

नेपालमा डिपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि हो। नेपाली बजारमा प्रवेश गरेको दुई वर्षमै डिपाल एस०७ करिब दुई हजार र एस०५ करिब नौ सयदेखि एक हजार वटासम्म बिक्री भएको कम्पनीले जनाएको छ। त्यस्तै, सी०७ र ई०७ मोडलका ५०–५० वटा बिक्री भएका छन्।

११ महिनामा करिब २९ हजार विद्युतीय सवारी आयात

भन्सार विभागको तथ्यांकले पनि नेपालमा इभीको बजार तीव्र रूपमा विस्तार भइरहेको देखाउँछ। आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा विभिन्न श्रेणीका गरी २८ हजार ९६८ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यसमा तीनपाङ्ग्रे, कार, जिप, भ्यान तथा अन्य विद्युतीय सवारी समावेश छन्।

यस अवधिमा मात्रै करिब २७ अर्ब ७७ करोड रुपैयाँ मूल्यका इभी आयात हुँदा सरकारले करिब १५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ।

कार, जिप र भ्यान समूहमा मात्रै १० हजार ८४७ वटा इभी आयात भएका छन्। तीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ३५७ वटा छन्। त्यसपछि ५० किलोवाटसम्मका तीन हजार ६८० र १०१ देखि २०० किलोवाटसम्मका ७९८ वटा इभी आयात भएका छन्।

क्षमताका आधारमा इभी आयातको अवस्था यस्तो छः

इन्धनको मूल्यले बदल्दैछ अटो बजार

तथ्यांक र व्यवसायीको अनुभवले नेपाली अटो बजार क्रमशः ‘इन्धनबाट बिजुली’तर्फ सर्दै गएको देखाउँछ। इन्धनको मूल्यवृद्धिले यो परिवर्तनलाई तीव्र बनाएको भए पनि कम सञ्चालन खर्च, कर सहुलियत, नयाँ मोडलको उपलब्धता र चार्जिङ पूर्वाधार विस्तार यसका दीर्घकालीन आधार बनेका छन्।

आगामी अटो एक्स्पो र दशैं–तिहारको खरिद सिजनले इभीको बिक्रीलाई थप उचाइमा पुर्‍याउने व्यवसायीको अपेक्षा छ। यही गति कायम रहे पेट्रोल–डिजेल गाडीलाई पछि पार्दै इभी नेपाली अटो बजारको मुख्य हिस्सा बन्न धेरै समय नलाग्ने संकेत देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.