नयाँदिल्ली। भारतमा विद्यार्थी आन्दोलनमाथि भएको कथित प्रहरी दमनको विरोधमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास नजिक प्रदर्शन गर्न पुगेका विपक्षी दलका शीर्ष नेताहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका नेताहरूलाई प्रहरीले प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको हो। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासबाट सुरु भएको विरोध मार्च प्रधानमन्त्री निवास रहेको लोककल्याण मार्गतर्फ अघि बढेको थियो।
मार्चमा कांग्रेसका सांसद, पदाधिकारी तथा कार्यकर्तासँगै अन्य विपक्षी दलका नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री निवासनजिक पुगेपछि उनीहरू सडकमा धर्ना बसेका थिए। प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै नेताहरूलाई प्रदर्शनस्थल खाली गर्न आग्रह गरेको थियो। प्रदर्शनकारी पछि नहटेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बसमार्फत त्यहाँबाट हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले नियन्त्रणमा लिने क्रममा राहुल गान्धीलाई बल प्रयोग गरी प्रदर्शनस्थलबाट हटाइएको कांग्रेसको आरोप छ। त्यसक्रममा उनको नाकमा सामान्य चोट लागेको तस्बिरसमेत सार्वजनिक भएको छ। कांग्रेसले यसलाई शान्तिपूर्ण प्रदर्शनमाथिको सरकारी दमन भनेको छ। यद्यपि, दिल्ली प्रहरी तथा भारत सरकारले उक्त आरोपबारे विस्तृत प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्। टाइम्स अफ इन्डिया
राहुल गान्धीले सामाजिक सञ्जालमार्फत विद्यार्थीमाथि भएको व्यवहारको जवाफ माग्न आफूहरू प्रधानमन्त्रीको निवासतर्फ मार्चमा निस्किएको बताएका छन्। उनले सरकारले विद्यार्थीका माग सुन्न नचाहेको र यस विषयमा संसदमा विस्तृत छलफलबाट पन्छिन खोजेको आरोप लगाए।
प्रदर्शनमा सहभागी नेताहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, गृहमन्त्रीबाट संसदमा जवाफ, विद्यार्थीका मागमाथि तत्काल सुनुवाइ तथा प्रदर्शनका क्रममा भएको प्रहरी कारबाहीको निष्पक्ष छानबिन माग गरेका छन्।

यसअघि राष्ट्रिय चिकित्सा प्रवेश परीक्षा ‘नीट’सहित विभिन्न परीक्षामा देखिएका अनियमितता र शिक्षा प्रणालीका समस्याविरुद्ध विद्यार्थी तथा युवाले दिल्लीमा प्रदर्शन गरेका थिए। संसद भवनतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। विपक्षी दलहरूले विद्यार्थीमाथि अत्यधिक बल प्रयोग गरिएको आरोप लगाएका छन्।
प्रधानमन्त्री मोदीले परीक्षा प्रणालीसँग सम्बन्धित अनियमिततामा संलग्नलाई कारबाही गरिने बताउँदै सरकारले आवश्यक कदम चालिरहेको जनाएका छन्। विपक्षी दलहरूले भने सरकारको आश्वासन पर्याप्त नभएको भन्दै राजनीतिक जवाफदेहिता र संसदीय छलफलको मागलाई तीव्र बनाएका छन्।

प्रधानमन्त्री निवासनजिक कांग्रेस तथा अन्य विपक्षी दलको प्रदर्शन र शीर्ष नेताहरू नियन्त्रणमा परेपछि दिल्लीको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। घटनाले विद्यार्थीका मुद्दा अब शैक्षिक क्षेत्रभित्र मात्र सीमित नरही राष्ट्रिय राजनीतिक बहसको प्रमुख विषय बन्न थालेको देखाएको छ। रोयटर्सका अनुसार राहुल र प्रियंका गान्धीसहित कांग्रेस नेताहरूको प्रदर्शन विद्यार्थीमाथि भएको कथित प्रहरी दमनको जवाफदेहिता माग्न केन्द्रित थियो।

