काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गरेका छन् ।
मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाण्डौको विभाग धाउनु नपर्ने र विदेशबाटै पनि उजुरी दर्ता गरी कारबाही बारे बुझ्न सकिने बताए ।
उनले भने,‘तपाईँ विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईँको साथमा छ। न्यायका लागि अब काठमाडौँ धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।’
वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि सरकार लागिपरेको समेत मन्त्री यादवले बताए । निरीक्षणमा विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सह-सचिव पीताम्बर घिमिरे लगायतको उपस्थिति थियो।

